npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

संसद् पुनर्स्थापनाको मुद्दामा मोर्चाबन्दी बलियो बनाउँदै एमाले, सरकारमाथि बढाउँदै दबाब

Prakash Bhandari 16 hours ago

काठमाडौं। नेकपा (एमाले)ले प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डामा नेपाली कांग्रेसबाहेकका दलसँग पनि संवाद अघि बढाएको छ। विघटनविरुद्ध सर्वोच्च अदालतमा कांग्रेसका सांसदलाई समेत रिट दर्ता गराउन लगाएको एमालेले पुनर्स्थापनाको एजेण्डामा अरू दलहरूसँग पनि संवाद अघि बढाएको हो।

एमाले नेताहरूका अनुसार त्यसका लागि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) तयार भइसकेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग पनि शीर्ष तहमा एमालेले छलफल गरेको छ। तर, एमालेको एजेण्डामा नेकपा सकारात्मक भने छैन।

‘अरू दलका केही साथीहरू पनि हामीसँग जोडिनुहुन्छ। पुरक निवेदन दिएर संख्या बढाउने काम हुन्छ। विघटित प्रतिनिधि सभाको बहुमत त हामीले जुटाइसकेका छौं,’ एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले भने।

महेश बर्तौला

एक/दुई दिनमै पुरक निवेदन बुझाउने एमाले-कांग्रेसले तयारी गरेका हुन्। त्यसका लागि १३८ सांसदको हस्ताक्षर संकलन भइसकेको बर्तौलाको दाबी छ।

एघारौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएलगतै केपी शर्मा ओलीले संसद् पुनर्स्थापना र सुशीला कार्की नेतृत्वको सरकारको विकल्पमा सर्वपक्षीय सरकार गठनबारे राजनीतिक दलको शीर्ष तहमा संवाद अघि बढाएका हुन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका केही प्रतिनिधिहरू समेत आफ्नो एजेण्डाप्रति सकारात्मक रहेको ओलीको बुझाइ छ। ओलीले यसअघि नै जेनजी प्रतिनिधिहरूसहितको सर्वपक्षीय सरकारको एजेण्डा समेत अघि सारेका थिए। 

ओलीले आफू निकट केही नेतालाई सर्वपक्षीय सरकार गठनको एजेण्डा पार्टीको महाधिवेशनले ओझेलमा परे पनि अब व्यापक रूपमा अघि बढाउनुपर्ने बताएका छन्। ‘निर्वाचन नहुने स्थितिमा मुलुक अघि बढ्न सक्दैन। त्यसैले सर्वपक्षीय सरकार गठनमा लाग्नुपर्छ,’ओलीले आफू निकटलाई भनेका छन्। 

केपी शर्मा ओली

एमालेले कार्की नेतृत्वको सरकारविरुद्ध सर्वपक्षीय सरकार गठनका लागि दबाब बढ्दै गएको विश्लेषण गरिरहेको छ। ‘हामीले त एजेण्डा मात्रै अघि बढाउने हो। हाम्रैमा सबै आइपुग्छन्,’ बर्तौलाले भने। 

एमाले नेताहरूका अनुसार ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग समेत संवाद गर्न चाहिरहेका छन्। तर, रास्वपाले भने जेनजी आन्दोलनपछि एमालेसँगको संवाद हानिकारक हुने भन्दै कुराकानीका लागि आनाकानी गरेको छ। 

पुराना दलसँग तत्कालका लागि कुनै पनि सहकार्य नहुने रास्वपाका प्रवक्ता मनिष झाले बताए। ‘पुराना दलसँग त सहकार्य हुँदैन। नयाँ दलहरूसँग अब कसरी मिलेर जान सकिन्छ कुराकानी भइरहेका छन्,’ उनले भने।

मनिष झा

ओली अदालतबाट संसद् पुनर्स्थापना गर्न ढिलाइ भएको अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेललाई दबाब दिएर भए पनि पुनर्स्थापना गर्नुपर्ने पक्षमा छन्। त्यसबारे ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा पनि कुराकानी गरेको एमाले नेताहरू बताउँछन्। कांग्रेसको देउवा समूह एमालेसँग सहकार्य गर्न सकारात्मक रहेको ओलीले आफू निकट नेताहरूलाई ब्रिफिङ गरेका थिए। 

सर्वपक्षीय सरकार बनाएर पुनर्स्थापित संसद्बाट संविधान संशोधन गर्दा जेनजीले उठाएका मुद्दा पनि सम्बोधन हुने भन्दै एमालेले कांग्रेस, नेकपा, लोसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतलाई मनाउन खोजिरहेको छ। तर, एमालेबाहेकका दल औपचारिक रूपमा संसद् पुनर्स्थापनको निर्णयमा पुगेका छैनन्। एमालेसँगको सहकार्य गर्न ओलीले गरेको प्रस्तावबारे समेत दलहरू अझै केही समय ‘पर्ख र हेर’को अवस्थामा छन्।

The post संसद् पुनर्स्थापनाको मुद्दामा मोर्चाबन्दी बलियो बनाउँदै एमाले, सरकारमाथि बढाउँदै दबाब appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category