npl.977 Nepal News Stream

Taksar News logo Taksar News

काठमाडौँको बानेश्वरमा १५ महिने ‘स्थानीय उत्पादन र मौलिक परिकार मेला’ शनिबारदेखि हुँदै

टक्सार न्युज 15 hours ago

काठमाडौं। स्थानीय उत्पादनको प्रवर्द्धन र मौलिक खानपानको संरक्षण गर्ने उद्देश्यसहित “स्थानीय उत्पादन र मौलिक परिकार प्रबर्द्धन मेला २०८३–०८४” आयोजना हुने भएको छ।

नयाँ वर्ष २०८३ को अवसर पारेर सुरु हुन लागेको यो मेला काठमाडौंको बानेश्वरस्थित मौलिक बजार तथा मौलिक भान्छाघर परिसरमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

डिग फर नेपाल र वल्ड मार्ट युनिक सलुसन्स (मौलिक बजार र मौलिक भन्छाघरको संयुक्त आयोजनामा हुने उक्त मेला वैशाख ५ गतेदेखि सुरु भई १५ महिनासम्म, अर्थात् ६४ हप्तासम्म प्रत्येक शनिबार सञ्चालन हुनेछ। विशेष पर्व तथा अवसरमा समेत मेला आयोजना गरिने जनाइएको छ।

आयाेजक संस्था डिग हर नेपाल को महासचिव तथा मौलिक बजारको अध्यक्ष सुमन दाहालका अनुसार मेलाले सातै प्रदेशका मौलिक उत्पादन, रैथाने परिकार, सांस्कृतिक प्रस्तुति, प्रविधि र उपभोक्ता सचेतनालाई एउटै मञ्चमा ल्याउने लक्ष्य लिएको छ। यस अभियानलाई ‘स्थानीय तहबाटै नेपाललाई सक्षम बनाउने’ दीर्घकालीन राष्ट्रिय पहलका रूपमा अघि बढाइएको आयाेजक संस्था अध्यक्ष दाहालले बताए ।

यस पहलअन्तर्गत बाँझो जमिनको सदुपयोग, रैथाने उत्पादनको पहिचान र ब्रान्डिङ, बजार पहुँच सुनिश्चितता, मौलिक खानपानको प्रवर्द्धन तथा सीप र शिक्षाको समन्वयलाई प्राथमिकता दिइएको छ। ‘बाँझो जमिन रहित नेपाल’ अभियानमार्फत प्रयोगविहीन जमिनलाई उत्पादनमुखी बनाउने र ‘एक स्थानीय तह–कम्तीमा एक उत्पादन ब्रान्डिङ तथा स्थानीय खरिद बिक्री केन्द्र सञ्चालन अवधारणालाई समेत कार्यान्वयन गरिने बताइएको छ।

मेलाले ग्रामीण क्षेत्रका उत्पादनलाई सहरसम्म पुर्‍याउने लक्ष्य राखेको छ। साना किसानबाट प्रत्यक्ष रूपमा कच्चा पदार्थ संकलन गरी न्यून प्रशोधन गरिएका खाद्य सामग्री उपभोक्तासम्म पुर्‍याइनेछ। यसले किसानलाई उचित मूल्य दिलाउने र स्थानीय रोजगारी सिर्जनामा टेवा पुग्ने अपेक्षा गरिएको छ।

मेलाको उद्घाटन वैशाख ५ गते बिहान बुढानीलकण्ठ–१० कपनमा वृक्षारोपणबाट सुरु हुने र त्यसपछि बानेश्वरमा औपचारिक कार्यक्रम आयोजना गरिनेछ। उद्घाटनमा सातै प्रदेशका प्रतिनिधित्व हुने गरी कम्तीमा एक/एक स्थानीय तहका प्रमुख सहभागी हुने आयोजकले जनाएको छ।

मेलामा सातै प्रदेशका स्थानीय भान्छेद्वारा तयार गरिएका परिकार, कृषि तथा गैर–कृषि उत्पादनको प्रदर्शनी र बिक्री, पोषण तथा जैविक विविधतासम्बन्धी जनचेतना कार्यक्रम, उत्पादक–खरिदकर्ता–लगानीकर्ताबीच व्यवसायिक सञ्जाल विस्तारजस्ता गतिविधि रहनेछन्। साथै २१ प्रकारका रैथाने परिकारको बुफे, सांस्कृतिक प्रस्तुति र परम्परागत पोशाक प्रदर्शन पनि आकर्षणका रूपमा रहने आयाेजक दाहालले बताए ।

यस पहलबाट स्थानीय उत्पादनको बजार विस्तार, साना किसान तथा महिला उद्यमीको आम्दानी वृद्धि र मौलिक संस्कृतिको संरक्षणमा योगदान पुग्ने विश्वास आयोजकले लिएको छ। पर्यटन, हस्पिटालिटी तथा निजी क्षेत्रसँगको सहकार्य विस्तार हुँदै स्थानीय अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ।

मेला हरेक शनिबार बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ। आयोजकले स्थानीय स्वाद, उत्पादन र समृद्धिको साझा यात्रामा सहभागी हुन सर्वसाधारणलाई आमन्त्रण गरेका छन्।

Read more news from Taksar News

Explore by Source or Category