npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

साँगा–धुलिखेल सडक स्तरोन्नति कार्यले तीव्रता पायो

पालिका ब्यूरो 1 day ago

काभ्रे — अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको पहिलो चरणको साँगा–धुलिखेल सडक स्तरोन्नति कार्यलाई तीव्रता दिइएको छ । गत मङ्सिर अन्तिम साता ठेक्काको म्याद सकिएपछि पुनः एक वर्ष म्याद थप भएसँगै निर्माण कार्यले गति लिएको हो ।

आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते लामा कन्स्ट्रक्सन प्रालिसँग रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनाको म्याद २०८२ मङ्सिर २५ गते सकिएको भए पनि सो अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । म्याद सकिँदा करिब ४० प्रतिशत काम अधुरो रहेको थियो ।

लामा कन्स्ट्रक्सनका मेनेजर रवीन्द्र श्रेष्ठका अनुसार साँगा–धुलिखेल खण्डमा समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ भने कालोपत्र (पीच) बाहेकका संरचनात्मक काम ९० प्रतिशत सम्पन्न भइसकेका छन् । हाल धुलिखेल क्षेत्रमा करिब एक किलोमिटर र पुलबजार–जनागाल क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र गरिएको छ । बाँकी खण्डमा पनि पीच कार्यलाई तीव्रता दिइएको उनले बताए ।

यसअघि गत मङ्सिर तेस्रो सातादेखि पुलबजार क्षेत्रमा डेढ वर्षदेखि रोकिएको करिब ३०० मिटर सडक स्तरोन्नति कार्य पुनः सुरु गरिएको थियो । ‘सेन्टर लाइन’ को विषयमा स्थानीयवासीसँग विवाद भएपछि काम अवरुद्ध भएको थियो । पछि सहमति जुटेपछि निर्माण कार्यले निरन्तरता पाएको हो ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका आयोजना प्रमुख विजयकुमार महतोका अनुसार पहिलो खण्ड साँगा–धुलिखेलमा ६० प्रतिशत र दोस्रो खण्ड सूर्यविनायक–साँगामा ४५ प्रतिशत काम सम्पन्न भएको छ । दोस्रो खण्डमा हाल केही स्थानमा संरचना भत्काउने तथा तयारीका काम भइरहेका छन् ।

आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी, बनेपा बजारलगायत क्षेत्रमा काम तीव्र रूपमा भइरहेको छ । पुलबजार–जनागाल क्षेत्रमा बनेपातर्फ दायाँ लेनको ८ सय मिटर लम्बाइ र १० मिटर चौडाइमा कालोपत्र सम्पन्न भइसकेको छ भने बनेपाबाट साँगातर्फ बायाँ लेनमा कालोपत्रको तयारी भइरहेको छ ।

यस्तै बाँसघारी–बुडोल क्षेत्रमा मुख्य लेनमा कटिङ तथा सर्भिस लेनमा ग्राभेल राख्ने काम भइरहेको छ । बनेपाको चाँदनी चोकमा कल्भर्ट निर्माणको तयारी भइरहेको छ भने चण्डेश्वरी खोला क्षेत्रमा पर्खाल लगाउने र फिलिङको काम जारी छ । साँगा–भैँसेपाटी क्षेत्रको ढुङ्गेधारामा हाल कटिङ कार्य भइरहेको खनालले जानकारी दिए ।

सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा (७.५ किलोमिटर) विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको छ । उक्त खण्डको ठेक्का अवधि आउँदो पुस १८ गते सकिँदैछ ।

साँघुरो सडकका कारण वर्षेनी बढ्दै गएको ट्राफिक जामलाई न्यूनीकरण गर्न छ लेनमा सडक विस्तारको काम सुरु गरिएको हो ।

Read more news from PalikaNews

Explore by Source or Category