npl.977 Nepal News Stream

KHASOKHAS logo KHASOKHAS

मेलोनीको आलोचना गर्दै ट्रम्पले भने – ‘साहसी ठानेको थिएँ, तर म गलत रहेछु’

सुरज घिमिरे 2 days ago

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीप्रति कडा आलोचना गर्दै उनीबाट ‘आश्चर्यचकित’ भएको बताएका छन्। उनले मेलोनी अपेक्षाभन्दा कम साहसी देखिएको टिप्पणी गर्दै सार्वजनिक रूपमा तीव्र आलोचना गरेका हुन्, जसले दुई निकट सहयोगीबीचको सम्बन्धमा तनाव बढाएको छ।

ट्रम्पले इटालियन पत्रिका Corriere della Sera लाई दिएको अन्तर्वार्तामा मेलोनी आफुले सोचेभन्दा धेरै फरक रहेको बताएका छन्। उनले विशेषगरी इरानसँगको तनाव र ऊर्जा सुरक्षासम्बन्धी विषयमा मेलोनीले अमेरिकालाई पर्याप्त समर्थन नगरेको आरोप लगाए।

ट्रम्पका अनुसार इरानले अवरुद्ध गरेको होर्मुज जलडमरू पुनः खोल्ने प्रयासमा इटालीले सक्रिय भूमिका नखेलेकोप्रति उनी असन्तुष्ट छन्।

उनले भने, “म उनीबाट आश्चर्यचकित छु। मैले उनलाई साहसी ठानेको थिएँ, तर म गलत रहेछु।”

मेलोनीले ट्रम्पको धार्मिक नेतृत्वसम्बन्धी टिप्पणीको आलोचना गर्दै त्यसलाई ‘अस्वीकार्य’ भनेकी थिइन्। त्यसको जवाफमा ट्रम्पले मेलोनीको व्यवहारलाई नै ‘अस्वीकार्य’ भनेका छन्।

ट्रम्पले इरानसँगको सम्भावित खतराबारे चेतावनी दिँदै इरानसँग आणविक क्षमता भए इटाली ‘दुई मिनेटमै जोखिममा पर्न सक्छ’ भन्ने दाबी पनि गरेका छन्।

यस विषयमा ह्वाइट हाउसले कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ भने मेलोनीको कार्यालयले पनि औपचारिक प्रतिक्रिया दिएको छैन।

तर विश्लेषकहरूका अनुसार यो घटनाले ट्रम्प र मेलोनीबीचको सम्बन्धमा स्पष्ट चिसोपन देखाएको छ, जबकि मेलोनी २०२५ मा ट्रम्पको शपथग्रहणमा उपस्थित हुने एकमात्र युरोपेली नेतृ थिइन्।

मेलोनीले ट्रम्पसँगको नजिकको सम्बन्धलाई घरेलु र अन्तर्राष्ट्रिय राजनीतिक लाभका रूपमा प्रयोग गर्ने अपेक्षा गरेकी थिइन्। तर अहिले यही सम्बन्ध उनको लागि राजनीतिक बोझ बन्न सक्ने देखिएको छ।

हालको सर्वेक्षणअनुसार करिब ६६ प्रतिशत इटालियनहरूले अमेरिकी नेतृत्वप्रति नकारात्मक धारणा राखेका छन्। विश्लेषकहरूले मेलोनीको वासिङ्टनसँगको निकटताले गत महिना भएको न्यायिक सुधारसम्बन्धी जनमतसंग्रहमा समेत असर पारेको हुनसक्ने बताएका छन्।

Read more news from KHASOKHAS

Explore by Source or Category