npl.977 Nepal News Stream

KHASOKHAS logo KHASOKHAS

गैरकानुनी प्रस्थान अनुमति दिने कर्मचारीमाथि कारबाही गर्ने अध्यागमनको चेतावनी

भवानी प्रसाद पाण्डे 16 hours ago

गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने भएको छ। कुनै पनि कर्मचारीले प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानुनी अभ्यास गरेमा कारबाही गर्ने अध्यागमन विभागले स्पष्ट पारेको छ।

अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको बताएको छ। विभागका प्रवक्ता निर्देशक टिकाराम ढकालले यसरी गैरकानुनी रूपमा प्रस्थान अनुमति दिने कर्मचारीमाथि आन्तरिक छानबिनको प्रक्रिया अघि बढाइएको बताए।

विभागले हालको समयमा धेरै नेपालीहरूको विदेश यात्रा रहर र राम्रो अवसरको खोजी मात्र नभई बाध्यता भएको यथार्थ अवगत रहेको बताएको छ। नागरिकको यही बाध्यतालाई भजाएर विभिन्न तहमा हुने गरेका ठगी र शोषण नियन्त्रण गर्न अध्यागमन प्रशासनले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको विभागको भनाइ छ।

विभागले अनावश्यक कागजात माग गर्ने र तजबिजीको आधारमा निर्णय गरी हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न नेपाल सरकारको २०८२ कात्तिक १३ को निर्णयानुसार भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकको सन्दर्भमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित विदेश जान पाउने गरी प्रस्थानलाई सरलीकृत र व्यवस्थित बनाइएको स्पष्ट पारेको छ।

यात्रुहरूको आगमन र प्रस्थानलाई झन्झटरहित बनाउन नीतिगत सहजीकरण र अध्यागमन प्रणालीलाई थप आधुनिकीकरण गरी राष्ट्रिय सुरक्षाको सुदृढीकरणका क्षेत्रमा काम गरिरहेको विभागले जानकारी दिएको छ।

Read more news from KHASOKHAS

Explore by Source or Category