PalikaNews
धौलागिरिमा पहिलोपटक कालोपत्र सुरु, ताकमवासी उत्साहित
म्याग्दी — म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिका–७ ताकममा पहिलोपटक कालोपत्र सुरु गरिएको छ ।
धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजनामार्फत ‘प्रिमिक्स’ प्रविधिबाट कालोपत्र थालिएको हो। महेन्द्र बानियाँ, पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियरका अनुसार बुधबारदेखि एक लेनमा ‘प्राइमकोट’ (बिटुमिन) बिछ्याउने काम सुरु गरिएको छ ।
“ग्राभेलमाथि राखिएको प्राइमकोट सुकेपछि दोस्रो चरणमा पुनः बिटुमिन बिछ्याइनेछ र त्यसपछि चिप्स राखेर अन्तिम तह तयार गरिनेछ,” उनले भने, “छ किलोमिटर दूरीमा स्तरोन्नति अन्तिम चरणमा पुगेको छ।”
पूर्वाधार विकास कार्यालयका अनुसार यस योजनाअन्तर्गत दुई लेनमा ९०० मिटर दूरीमा कालोपत्र गरिँदैछ। यो म्याग्दीको रणनीतिक महत्वको सडक आयोजना मानिएको छ ।
मध्यपहाडी लोकमार्गको विकल्पका रूपमा लिइएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्ने काम हालसम्म ८४ प्रतिशत सम्पन्न भएको छ ।
विसं २०८१ जेठ २० गते दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित रामसागर बिके एस केबीएस धौलागिरी जेभीले रु १४ करोड ६१ लाखमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले बेस र सबबेस बिछ्याउने, संरचना निर्माण तथा अप्ठ्यारो स्थानमा ढलान गर्ने काम पूरा गरिसकेको छ ।
धौलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्री का अनुसार कालोपत्र सुरु भएसँगै स्थानीयवासी उत्साहित भएका छन् । यसअघि चारदेखि पाँच मिटर चौडाइ रहेको सडकलाई अहिले आठ मिटर फराकिलो बनाइएको छ ।
त्यस्तै, म्याग्दी क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली का अनुसार यसै सडकअन्तर्गत दरवाङ–धारापानी (७ किमी) र मच्छिम–मुना (४ किमी) खण्डमा अक्सफाल्ट प्रविधिबाट कालोपत्र र ढलान गर्ने अर्को योजना पनि सुरु भएको छ । उक्त योजनाको रु ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको छ ।
यो सडक सञ्चालनमा आएपछि म्याग्दी, बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आवतजावतमा करिब ५० किलोमिटर दूरी छोटिने अपेक्षा गरिएको छ ।
धौलागिरिको केन्द्र मुना हुँदै जलजला र पूर्वी रुकुमसम्म सडक सञ्जाल विस्तार भइसकेकाले यस क्षेत्रको यातायात र आर्थिक गतिविधिमा उल्लेख्य सुधार आउने विश्वास गरिएको छ ।