Taksar News
जलवायु परिवर्तनको असर पर्यटनमा पर्दा महिलाहरू सबैभन्दा बढी मारमाः मन्त्री श्रेष्ठ
काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे चिन्ता व्यक्त गरेकी छिन् ।
उनकाअनुसार जलवायुजन्य विपद्का कारण पर्यटन क्षेत्र प्रभावित हुँदा त्यसको सबैभन्दा ठूलो मार महिलाहरूमाथि परिरहेको हो । नेपालको पर्यटन क्षेत्र प्राकृतिक भूदृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले हिमताल विस्फोट, अनियमित हिमपात, पहिरो र पानीको अभाव जस्ता घटनाले पर्यटनलाई अवरुद्ध गरिरहेको बताइन् ।
पर्यटनमा आधारित समुदायका महिलाहरू प्रायः अनौपचारिक र मौसमी आम्दानीमा निर्भर हुने बताइन् । होमस्टे सञ्चालन, स्थानीय उत्पादन विक्री, होटलमा काम र सांस्कृतिक सेवामार्फत उनीहरूले जीविकोपार्जन गरिरहेका छन् ।
जलवायु परिवर्तनका कारण पर्यटन अवरुद्ध हुँदा यी अवसरहरू गुम्ने गरेको मन्त्री श्रेष्ठको भनाइ छ । मन्त्री श्रेष्ठले जलवायु वित्तपोषणमा रहेका संरचनात्मक समस्याहरू औंल्याउँदै अधिकांश ‘रेजिलेन्ट फण्ड’ पूर्वाधार विकासमा मात्र केन्द्रित रहेको बताइन् ।
उनले यसलाई ‘जेन्डर ब्लाइन्ड क्लाइमेट फाइनान्सिङ’ को संज्ञा दिइन् । ग्रामीण पर्यटन अर्थतन्त्र अझै पनि अनौपचारिक रहेकाले धेरै महिलाहरू सामाजिक सुरक्षा बिना नै जोखिमपूर्ण अवस्थामा काम गरिरहेको बताइन् ।
जलवायु परिवर्तनले बसाईंसराई बढाएको र धेरैजसो पुरुषहरू रोजगारीका लागि बाहिरिँदा महिलाहरूमाथि घर, खेतीपाती र सामुदायिक विपद् व्यवस्थापनको ‘त्रिगुणीय बोझ’ थपिएको मन्त्री श्रेष्ठले उल्लेख गरेकी छिन् ।
यस्तो अवस्थामा पर्यटन क्षेत्र उनीहरूको लागि जीवनरेखा बन्ने गरेको छ । जलवायु सहनशील पर्यटनका लागि वित्तपोषण भनेको केवल सडक र भवन निर्माण मात्र नभई यो मानिसमा, विशेष गरी महिलामा गरिने लगानी हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिइन् ।
उनले महिलाद्वारा सञ्चालित उद्यममा सहज पहुँचयोग्य जलवायु कोष, सहकारी सुदृढीकरण र नवीकरणीय ऊर्जा जस्ता लैङ्गिक संवेदनशील पूर्वाधारमा लगानी आवश्यक रहेको बताइन् ।
पर्यटनबाट प्राप्त आम्दानीलाई सामुदायिक सहनशीलतासँग जोड्दै संरक्षणमा योगदान पु¥याउने महिलाहरूलाई प्रत्यक्ष लाभ सुनिश्चित गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ ।