माछापुच्छ्रे बैंकले नेपालपे कार्ड इनेबल गर्ने, एनसीएचएलसँग भयो सम्झौता
काठमाडौं। माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ।
एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीच (एनपीएस-एनसीएस)सँग इन्टिग्रेट भइसकेको छ। उक्त सम्झौतापछि माछापुच्छ्रे बैंकले आफ्नो ग्राहकहरूका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ।
साथै, बैंकले डिस्कभर नेटर्वक अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरू र रुपे कार्ड समेत अक्वायर गरी नेपालपे कार्डका कारोबारहरू प्रोसेस गर्न सक्ने बताइएको छ। पहिलो चरणमा बैंकले आफ्नो १९९ भन्दा वटा एटीएम र ३ हजार वटा पीओएस टर्मिनल मार्फत नेपालपे कार्डको अक्वायरिङका लागि इनेबल गर्ने र क्रमिक रुपमा उक्त कार्ड आफ्नो ग्राहकहरूलाई जारी समेत गर्ने जानकारी दिएको छ।
एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरिसकेको छ। अन्तर्राष्ट्रिय पार्टनर डिस्कभर नेटवकमार्फत नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ।
नेशनल पेमेन्ट स्विचअन्तर्गत नेपालपे संचालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली संचालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ। साथै, अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डहरू पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ।
एनसीएचएलको इएफटी सर्भिसेस् मार्फत हाल १० वटा सदस्य बैंक वित्तीय संस्थाहरूले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्कीमहरू प्रोसेस गर्दै आइरहेका छन्। हालै इएफटी र नेशनल पेमेन्ट स्वीच बीचको इन्टिग्रेसनसँगै अब नेपालपे कार्ड पनि प्रोसेस गर्न सक्ने भएको हो।
इएफटीका अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरूले पनि नेपालपे कार्ड अक्वायर तथा इस्यू गर्ने तयारी गरिरहेका छन्। हालसम्म नेपालपेमा ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन्।
नेपालपे कार्ड कार्यान्वयनमा आइसकेको छ भने हाल २ वटा कमर्सियल बैंकहरूले कार्ड इस्यू गर्न सुरु गरिसकेका छन्। तीन वटा कमर्सियल बैंकहरूले अक्वायरिङ्ग पनि गर्दै आइरहेका छन्।
The post माछापुच्छ्रे बैंकले नेपालपे कार्ड इनेबल गर्ने, एनसीएचएलसँग भयो सम्झौता appeared first on BIZMANDU.