npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

दोस्रो उपाधिको खोजीमा झापा, इतिहास रच्ने दाउमा सम्राट

अनिल श्रेष्ठ 10 hours ago

विराटनगर। विराटनगरमा जारी ३८औँ संस्करणको नोबेल विराट गोल्डकपको फाइनल प्रतिस्पर्धा शनिबार हुँदै छ। उपाधिका लागि पूर्वविजेता झापा-११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब आमनेसामने हुँदै छन्।

विराटनगरस्थित सहिद रंगशालामा शनिबार राति ७ बजे सुरु हुने फाइनलमा दुवै टोली उपाधि आफ्नो पक्षमा पार्ने दाबीसहित मैदान उत्रने तयारीमा छन्। विराट गोल्डकपको इतिहासमा झापा-११ दोस्रोपटक उपाधि उचाल्ने लक्ष्यमा छ भने घरेलु टोली सम्राट स्पोर्टिङ क्लब पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पार्न चाहन्छ।

झापाले यसअघि २०७१ सालमा त्रिभुवन आर्मी क्लबलाई हराएर उपाधि जितेको थियो। यसपटक पनि दुई बलिया विभागीय टोली आर्मी र नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै झापाले फाइनल यात्रा तय गरेको हो।

अर्कोतर्फ पहिलोपटक प्रतियोगितामा भाग लिएको सम्राट स्पोर्टिङको मनोबल उच्च छ। उसले क्वार्टरफाइनलमा पाहुना टोली भारतको विर्सामुण्डा स्पोर्ट्स एकेडेमीलाई र सेमिफाइनलमा लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई समान ३-१ को गोलअन्तरले पराजित गर्दै सनसनी मच्चाएको छ।

शुक्रबार आयोजित ‘प्रि-म्याच कन्फ्रेन्स’ मा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीति सार्वजनिक गरे। सम्राटका प्रशिक्षक पारस चौधरीले घरेलु मैदान र दर्शकको साथ नै आफ्नो टोलीको मुख्य शक्ति भएको बताए।

“पहिलो सहभागितामै फाइनल पुग्नु हाम्रा लागि ठूलो उपलब्धि हो,” उनले भने, “झापासँग विदेशी खेलाडी भए पनि हाम्रा खेलाडीहरू प्राविधिक रूपमा उत्कृष्ट छन्। घरेलु मैदानमा उपाधि जित्दै इतिहास रच्नेछौं।” उनले फाइनलमा कोमल खवासलाई मैदान उतारिने जानकारीसमेत दिए।

सम्राटका कप्तान अशोक खवासले सेमिफाइनलमा देखिएका फिनिसिङका कमजोरीहरूलाई सुधार गर्दै मैदान उत्रने बताए। “उपाधि उचालेर इतिहास रच्ने हाम्रो मुख्य लक्ष्य हो,” उनले भने।

यता झापा-११ का प्रशिक्षक गणेश खड्काले आफू खेलाडी हुँदा जितेको उपाधि अहिले प्रशिक्षकका रूपमा पनि दोहोर्‍याउन चाहेको बताए। “म आफैँले यही सहिद मैदानमा खेल्दा उपाधि जितेको अनुभव छ, अहिले प्रशिक्षकका रूपमा त्यो इतिहास दोहोर्‍याउन चाहन्छु,” खड्काले भने, “हामीसँग तीनजना विदेशी खेलाडी छन्। सम्राटलाई हामीले कमजोर ठानेका छैनौँ, उनीहरूले नाम चलेका क्लबका खेलाडीहरू ल्याएका छन्, त्यसैले प्रतिस्पर्धा रोचक हुनेछ।”

झापाका कप्तान पूजन थापाले युवा र विदेशी खेलाडीहरूको सन्तुलित टिम रहेकाले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिष्ठित गोल्डकपको ट्रफी दोस्रोपटक झापा लैजाने विश्वास व्यक्त गरे।

चैत २८ देखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीको सहभागिता थियो। शनिबारको विजेताले नगद ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५-१५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category