एस्टन भिल्लासँग युनाइटेडको हार
एजेन्सी – मोर्गन रोजर्सले दुई उत्कृष्ट गोल गरेपछि एस्टन भिल्लाले प्रिमियर लिगमा आइतवार म्यानचेस्टर युनाइटेडलाई २-१ ले हराएको छ।
भिल्ला यो जितसँगै क्रिसमसअघि लिगको शीर्ष टोली आर्सनल भन्दा ३ अंक मात्र पछाडि रहेको छ।
यो जित एस्टन भिल्लाको सबै प्रतियोगितामा लगातार १०औँ जित हो। प्रिमियर लिगमा लगातार ७ खेल जितेको यो पहिलो पटक हो। भिल्लाले यो उपलब्धि ३६ वर्षपछि हासिल गरेको हो।
भिल्ला पार्कमा खेलको ४५औँ मिनेटमा रोजर्सले सानदार गोल गर्दै भिल्लालाई अग्रता दिलाए। तर पहिलो हाफको इन्जुरी समयमा म्याटी क्यासको गल्तीको फाइदा उठाउँदै म्याथियस कुन्हाले बराबरी गोल गरे ।
दोस्रो हाफ सुरु भएको १२ मिनेटमै रोजर्सले उस्तै सानदार दोस्रो गोल गर्दै भिल्लालाई पुन: अग्रता दिलाए। यसपछि युनाइटेडले केही राम्रो अवसर सिर्जना गर्यो।
चोटका कारण कप्तान ब्रुनो फर्नान्डेस दोस्रो हाफमा मैदान बाहिरिए पनि युनाइटेडले आक्रमण जारी राख्यो। कुन्हाले हेडमार्फत गोल गर्ने राम्रो मौका पाए तर बल गोलपोस्ट नजिकबाट बाहिर गयो।
यो जितपछि उनाइ एमरीको प्रशिक्षणमा रहेको भिल्ला लिग तालिकाको तेस्रो स्थानमा छ। भिल्ला दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा १ अंक र शीर्ष टोली आर्सनलभन्दा ३ अंक मात्र पछाडि छ। म्यानचेस्टर युनाइटेड भने क्रिसमसका दिन सातौँ स्थानमा रहनेछ।

The post एस्टन भिल्लासँग युनाइटेडको हार first appeared on हाम्रो खेलकुद.