आफू ‘न्युट्रल मान्छे’ भन्दै पूर्वडिआइजी रमेश खरेलले कांग्रेस उम्मेदवारलाई माग्न थाले भोट
काठमाडौं – पूर्वडीआईजी रमेश खरेल कांग्रेसको चुनावी कार्यक्रममा देखिएका छन् । खरेल काभ्रेपलाञ्चोक २ का कांग्रेस उम्मेदवार मधु आचार्यको पाँचखालमा भइरहेको चुनावी कार्यक्रममा सहभागी भएका हुन् ।
पाँचखाल–५ को केराघारीमा पुगेका खरेलले आफू कुनै पार्टीमा नलागे पनि रुपान्तरणसहित आएको कांग्रेसले देशको मुहार परिवर्तन गर्ने अपेक्षासहित चुनावी कार्यक्रममा आएको बताए ।
‘म न्युट्रल मान्छे हो, म कुनै पार्टीमा आवद्ध छैन, तर नेपाल आमाले नयाँ अनुहार खोजुरहनुभएको छ । न्युट्रल भोटरको हिसाबमा हेर्दा नेपाली कांग्रेस हिजोको कांग्रेस रहेन, सुदृढीकरण गरेर युवा नेताहरुको उदय भएको र त्यो उदय भनेको भोलिको प्रष्ट भिजन, मिसन र भिजनलाई एक्सनमा लाने एउटा उदय हो,’ खरेलले भने, ‘गगन र विश्वप्रकाशको आँटलाई सहयोग पुर्याउन कांग्रेसलाई मत माग्न आएको हुँ ।’
आमचुनाव २०७९ मा काठमाडौं १ मा चुनाव लडेका खरेल २०८० मा बाराको उपचुनावमा रास्वपाबाट उम्मेदवार बनेका थिए । खरेल रास्वपाबाट बारा २ को उपचुनावमा जनता समाजवादी पार्टीका उपेन्द्र यादवसँग पराजित भएका थिए । त्यसयता केही समय रास्वपामै रहेका उनले पछि पार्टीसँगको आबद्धता त्यागेका थिए । उनी २०७९ को निर्वाचनमा काठमाडौं १ मा नेपाल सुशासन पार्टीबाट उम्मेदवार बनेका थिए ।
खरेल कांग्रेस उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए । उनले त्यसबेला चार हजार मत ल्याएका थिए । अहिले उनी काठमाडौं १ मा कांग्रेस उम्मेदवार प्रबल थापाको पक्षमा मत माग्दै हिँडेका छन् । उनले प्रबल थापा योग्य उम्मेदवार भएकाले उनलाई जिताएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । खरेल बिहीबार कांग्रेस सभापति गगन थापाले राष्ट्रिय सभा गृहमा आयोजना गरेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए ।