npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

लोकतन्त्रको जग सुदृढ बनाउँदै समृद्ध नेपालतर्फ अघि बढ्न गगन थापाको आह्वान

इन्द्र कमल रोक्का 23 hours ago

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्दै समृद्ध नेपाल निर्माणतर्फ अग्रसर हुन आह्वान गरेका छन्।

बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले फागुन ७ लाई नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका रूपमा स्मरण गरेका छन्।

२००७ सालको जनक्रान्तिले १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गरेको उल्लेख गर्दै उनले सो दिनले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक रूपान्तरणको मार्ग प्रशस्त गरेको बताएका छन् ।

‘फागुन ७-नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन । २००७ सालको ऐतिहासिक जन–क्रान्तिले १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्रको स्थापना गरेको यस गौरवमय दिनका अवसरमा, म समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ शुभकामना सन्देश मार्फत थापाले भने ।

उनले मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ नेपालले यही आन्दोलनमार्फत साहसी कदम चालेको उल्लेख गर्दै प्रजातन्त्रले सुदृढ राष्ट्रियता, नागरिक अधिकार र जनसहभागिताको आधार निर्माण गरेको बताए।

थापाले २०४६ सालको जनआन्दोलन र २०६२/६३ को आन्दोलन हुँदै संघीयता र गणतन्त्रसम्म पुगेको नेपालको राजनीतिक यात्राको जननी पनि २००७ सालको क्रान्ति नै रहेको धारणा व्यक्त गरेका छन्।
‘समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्तिनै हो,’ शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रिय स्वाधीनता, नागरिक अधिकार र लोकतन्त्रका लागि भएका विभिन्न संघर्ष र आन्दोलनमा सहिदहरूले दिएको बलिदानलाई स्मरण गर्दै उनले संविधानको संरक्षण, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत स्थायित्व तथा आर्थिक समृद्धि हासिल गर्न सके मात्र सहिदप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गरेका छन् ।

Read more news from Kendrabindu

Explore by Source or Category