npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

७ महिनामा मुस्ताङमा ३ लाख २५ हजार बढी पर्यटक भित्रिए

Sudarshan Shrestha 14 hours ago

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा ३ लाख २५ हजार ५ सय ५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै चालु वर्षको साउनमा १९ हजार ७ सय ८१, भदौमा २३ हजार २ सय ५, असोजमा ७५ हजार ५ सय ९९, कात्तिकमा ८३ हजार ७ सय ६६, मङ्सिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १ सय ५३ र माघमा ३२ हजार चार जना विदेशी तथा स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

गत वर्षको साउनदेखि माघसम्म तीन लाख ४० हजार ७२९ विदेशी तथा स्वदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । प्रहरीको तथ्याङ्कअनुसार गत वर्षको आठ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १८ हजार १ सय ७१ जना (५.३३ प्रतिशत) पर्यटक कम भित्रिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार म्याग्दी र मुस्ताङको सिमाना घाँसामा सडकमार्ग हुँदै मुस्ताङ भित्रिने विदेशी तथा स्वदेशी पर्यटकको अभिलेख सङ्कलन गर्ने गरेको छ । पोखरा–जोमसोम हवाई सेवामार्फत मुस्ताङ भित्रिएका र मनाङ हुँदै थोरङलापास गरी मुस्ताङ भित्रिएका पर्यटकको मातहतका प्रहरी एकाइहरूले अभिलेख सङ्कलन गर्ने गरेका छन् ।

मुस्ताङमा आव २०८०÷८१ मा चार लाख ५४ हजार ३२६ जना र आव २०८१÷८२ मा सात लाख पाँच हजार ७७९ जना स्वदेशी तथा विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्लो समय राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बर्सेनि सहज हुँदै जान थालेपछि मुस्ताङमा पर्यटकको आगमनदर वृद्धि हुँदै गएको हो । मुस्ताङमा भित्रिएका सार्क राष्ट्रका पर्यटकमध्ये अधिकांश भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी फर्किने गरेका छन् । अन्य राष्ट्रका विदेशी पर्यटक भने बेनी–जोमसोम सडकमार्ग र मनाङ हुँदै थोरङ्लपास क्रस गरी मुस्ताङ भित्रिने गर्छन् ।

मुस्ताङको कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध गर्न तथा मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने स्वदेशी पर्यटकको सङ्ख्या पनि बढ्दो छ । मुस्ताङ भित्रिएका पर्यटकमध्ये तीन प्रतिशत विदेशीले माथिल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन् । पछिल्लो समय जोमसोम–कोरला सडक सहज भएपछि उल्लेख्य सङ्ख्यमा स्वदेशी पर्यटक कोरलानाकासम्म पुग्ने गरेका पाइएको छ ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category