npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र

इन्द्र कमल रोक्का 7 hours ago

कैलाली। प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका चार ठाउँलाई अस्थायी मतदान केन्द्र तोकिएको छ ।

प्रदेश निर्वाचन कार्यालयले कैलालीको निर्वाचन क्षेत्र–१ मा पर्ने टीकापुर नगरपालिका भवन, क्षेत्र–४ मा पर्ने गोदावरी नगरपालिकाको बनदेवी मन्दिर परिसर, क्षेत्र–५ मा पर्ने धनगढी उपमहानगरपालिका भवन र धनगढीकै जिल्ला कारागार शाखालाई अस्थायी मतदान केन्द्र तोकिएको जनाएको छ ।

कार्यालय प्रमुख प्रेमराज भट्टले स्थायी मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मात्र अस्थायी मतदान केन्द्रमा पुगेर समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउने बताए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कर्मचारी र कारागारका कैदीबन्दीलाई मतदान गर्न पाउने व्यवस्थाका लागि अस्थायी मतदान केन्द्र स्थापना गरिएको हो । कर्मचारी, सेना, प्रहरी र कैदीबन्दीले समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था छ । जिल्लाका अस्थायी मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउनेमा ४० कैदीबन्दी सहित चार हजार १९६ मतदाता छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा प्रत्यक्ष र समानुपातिक गरी दुवै निर्वाचन प्रणालीमा भाग लिन पाउने स्थायी मतदाताको कुल संख्या पाँच लाख ५१ हजार ५२ छ । दुवै निर्वाचन प्रणालीमा भाग लिन पाउने मतदाताका लागि जिल्लाभर २३७ मतदान स्थल तोकिएको छ ।

निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि प्रशिक्षण सञ्चालन गरिरहेको छ । निर्वाचनका लागि आवश्यक मतपत्रसहितका सामग्री जिल्लामा पुगिसकेको छ ।

निर्वाचनका लागि ५१ प्रकारका सामग्री आवश्यक पर्नेमा ३७ प्रकारका सामग्री प्रदेश निर्वाचन कार्यालयबाट र बाँकी १४ प्रकारका सामग्री केन्द्रबाट आपूर्ति गर्ने व्यवस्था गरिएको छ ।

वडामा परिचालित मतदाता शिक्षा स्वयंसेवीले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन् । प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा राजनीतिक दल र स्वतन्त्र गरी २०६ जना प्रतिस्पर्धामा छन् ।

Read more news from Kendrabindu

Explore by Source or Category