npl.977 Nepal News Stream

NepalWatch logo NepalWatch

संसदीय समितिले पायो पूर्णता,यी हुन् संसदीय समितिका नवनिर्वाचित सभापति

Nepal Watch 9 hours ago

काठमाडौं – संघीय संसद्अन्तर्गतका १२ वटा संसदीय समितिहरूले शुक्रबार सभापति चयन गरेसँगै पूर्णता पाएका छन्। तीमध्ये १० वटा समितिमा सभापति सर्वसम्मत चयन भएका छन् भने दुई समितिमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका हरि ढकाल सर्वसम्मत निर्वाचित भए। त्यसैगरी कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा चयन भइन्।

अन्य समितिहरूमा पनि रास्वपाको प्रभाव देखिएको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी सर्वसम्मत रूपमा सभापति बने।

यसैगरी संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ, उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन्।

सार्वजनिक लेखा समितिको सभापतिमा भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का सर्वसम्मत रूपमा चयन भए। उनलाई रास्वपाको समर्थन रहेको थियो।

दुई समितिमा भने प्रतिस्पर्धात्मक निर्वाचन भएको थियो। राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रास्वपाका गणेश कार्की विजयी भए भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रास्वपाकी ओजस्वी शेरचन निर्वाचित भइन्।

समग्रमा, अधिकांश समितिमा रास्वपाको वर्चस्व स्थापित भएको देखिएको छ।

Read more news from NepalWatch

Explore by Source or Category