npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

दरबारको सौन्दर्यीकरणपछि आन्तरिक पर्यटकको आकर्षण बढ्दै

पालिका ब्यूरो 1 week ago

बागलुङ – एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार हेर्न आउने आन्तरिक पर्यटकको संख्या एक वर्षमै २० हजार पुगेको छ । पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारस्थित दरबार संरक्षण र सौन्दर्यीकरणपछि यहाँको आकर्षण उल्लेख्य रूपमा बढेको दरबार संरक्षण अभियन्ता मन्जेस बम मल्लले जानकारी दिएका छन् ।

द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका सन्तान विस्थापित भएपछि जीर्ण बनेको दरबार हाल परम्परागत स्वरुपमै पुनःस्थापना गरिएको छ । झ्याल–ढोका पुरानै शैलीमा पुनर्निर्माण गरिएका छन् भने रंगरोगन र मर्मतले दरबार क्षेत्र चिटिक्क बनेको छ। दरबार परिसरमा रहेको पुरानो घर र गोठलाई मौलिक रूपमा पुनर्निर्माण गरी तीन वर्षदेखि रेष्टुराँ सञ्चालनमा ल्याइएपछि पर्यटक थप आकर्षित भएका छन् ।

गलकोट राज्य सञ्चालन भएको ऐतिहासिक दरबार संरक्षणपछि आन्तरिक पर्यटक लोभिने प्रमुख केन्द्र बनेको मल्लले बताए। उनका अनुसार गत वर्ष मात्रै २० हजार पर्यटकले दरबार अवलोकन गरेका छन् । तस्बिर खिच्ने, भिडियो बनाउने, अध्ययन र अवलोकन गर्न आउनेको संख्या दैनिक रूपमा बढिरहेको छ ।

मल्लसहित चार युवाले करिब ५० लाख रुपैयाँ लगानीमा रेष्टुराँ सञ्चालनमा ल्याएका छन् । दरबार परिसरमै माछापोखरी तयार गरी विभिन्न प्रजातिका माछा पालन पनि थालिएको छ । गलकोट दरबार तथा वरपरको जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा दर्ता रहेको छ ।

विसं २०३९ मा राजा भरतबम मल्लको निधनपछि संरक्षणको जिम्मा छोरा माधव मल्लले सम्हालेका थिए । तर विसं २०५९ वैशाखमा द्वन्द्वकालीन घटनामा माधव मल्लको मृत्यु भएपछि परिवार काठमाडौं विस्थापित भएको र दरबार जीर्ण बनेको थियो। पछिल्ला वर्षहरूमा नाति मन्जेश मल्लले संरक्षणको नेतृत्व लिएपछि दरबार पुनःजीवन पाउँदै आन्तरिक पर्यटक आगमन निरन्तर बढ्दो क्रममा रहेको छ ।

Read more news from PalikaNews

Explore by Source or Category