एमालेको चुनावी घोषणापत्र सार्वजनिक, राजनीतिक स्थिरताका लागि बहुमतको माग
काठमाडौँ । एमालेले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले बिहीबार होटेल एभरेस्टमा आयोजना गरेको चुनावी घोषणापत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष केपी ओलीले सम्बोधन गर्दै लक्ष्य निर्धारणहित प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को नारासहित त्यसलाई पूरा गर्न आफ्नो पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिएको छ । विगतमा आफ्नो पार्टी सरकारमा हुँदा थालिएका र पूरा गर्न नपाएका सुशासन, विकास, रोजगारी र सामाजिक न्यायका क्षेत्रलाई एमालेले मुख्य प्राथमिकता दिएको छ ।
घोषणापत्रमा तत्काल गर्ने ११ काम, पाँच आधारभूत काम र २५ संकल्प सार्वजनिक गरिएको छ । घोषणापत्रमा आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब पुर्याउने महत्त्वाकांक्षी लक्ष्य राखिएको छ। घोषणापत्रमा युवालाई मासिक १० जीबी निःशुल्क डाटा, स्टार्टअपका लागि १० हजार डलरको कार्ड र विद्यार्थीलाई २० लाखसम्मको निर्व्याजी ऋण दिने उल्लेख गरिएको छ।
त्यस्तै, सुत्केरी पोषण भत्ता २० हजार पुर्याउने, विपन्नको २५ हजारसम्मको ऋण मिनाहा गर्ने, रेल–मेट्रो सञ्चालन गर्ने र डिजिटल सुशासन कायम गर्ने प्रतिबद्धता जनाउँदै एमालेले राजनीतिक स्थिरताका लागि बहुमतको माग गरेको छ। अध्यक्ष ओलीले भत्काउने र जलाउने नभई बनाउने संकल्पका साथ एमालेले विगतका अनुभव र अभ्यासका कारण मुलुकको मुहार फेर्ने कामको अगुवाइ गर्ने दाबी गरे । उनले स्वाधीनता र राष्ट्रियताको पक्षमा एमाले सधैँ दृढ रहेको स्पष्ट गर्दै आफूहरु कुनै लोकप्रितावाद वा स्टन्टमा केन्द्रित नहुने बताए ।