धरहराको व्यवस्थापन अब महानगरले गर्ने
काठमाडौं। ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापन काठमाडौं महानगरपालिकाअन्तर्गत लैजाने सहमति भएको छ । संघीय सरकार र महानगरपालिकाबीच भएको छलफलपछि यस विषयमा अध्ययन समिति गठन गर्ने निर्णय गरिएको हो ।
कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार धरहरा हस्तान्तरणको प्रक्रिया, सञ्चालन मोडालिटी र व्यवस्थापन संरचना तय गर्न समिति बनाइनेछ । अध्ययनपछि निष्कर्षका आधारमा कार्यान्वयन गरिने बताइएको छ ।
धरहराको पार्किङ र सञ्चालनको ठेक्का लिएको निजी कम्पनीलाई असर नपर्ने गरी व्यवस्थापनको ढाँचा तयार गरिने महानगरले जनाएको छ । बेसमेन्ट पार्किङको व्यवस्थापन पनि महानगरलाई दिने विषयमा छलफल भएको छ ।
महानगरले यसअघि पनि धरहरा सञ्चालन गर्दै आएको र स्थानीय सरकारका रूपमा अब पूर्ण जिम्मेवारी लिन तयार रहेको जनाएको छ ।
यसअघि सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसहितका संरचना सञ्चालन गर्न छुट्टै निकाय बनाउने निर्णय गरेको थियो । अब सो निर्णय पुनरावलोकन गर्दै धरहराको जिम्मेवारी महानगरलाई दिने तयारी गरिएको छ ।
महानगरले न्युरोड क्षेत्रलाई ‘नो पार्किङ जोन’ घोषणा गरिसकेको अवस्थामा धरहरामा पार्किङ व्यवस्थापन कसरी गर्ने भन्ने विषय पनि अध्ययनको भाग हुनेछ ।