npl.977 Nepal News Stream

GandakNews logo GandakNews

स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित

राम बहादुर रोकाहा 23 hours ago

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा सञ्चालन गरिएको वृहत् स्वास्थ्य शिविरबाट छ सय ३१ जना नागरिक लाभान्वित भएका छन् । गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि अर्जुनचौपारीका साथै छिमेकी पुतलीबजार र भीरकोट नगरपालिकाबाट समेत सेवाग्राही शिविरमा पुगेका थिए ।

खुमा अर्याल फाउन्डेसनले अर्जुनचौपारी गाउँपालिकाको प्रशासकीय भवन प्राङ्गणमा शिविर आयोजना गरेको हो । अर्जुनचौपारी गाउँपालिकाको समन्वयमा गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा विभिन्न विशेषज्ञ सेवाहरू उपलब्ध गराइएको थियो ।

शिविरमा उपचार गराउन आएका मध्ये जटिल समस्या देखिएका एक सय २० जना बिरामीलाई गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ । रिफर गरिएका बिरामीका लागि औषधीमा पाँच प्रतिशत र उपचार सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।

शिविरमा मुटु तथा मृगौला सम्बन्धी समस्यासहित विभिन्न रोगको जाँच तथा उपचार सेवा प्रदान गरिएको थियो । जनरल फिजिसियनमार्फत सबै प्रकारका रोगको प्रारम्भिक जाँच गरिनुका साथै भिडियो एक्स–रे, मुटुको इको र ईसीजी तथा आवश्यक प्रयोगशाला परीक्षणहरू निःशुल्क गरिएको थियो । महिलाका लागि पाठेघरको क्यान्सर जाँच सेवा पनि उपलब्ध थियो । शिविरमा आवश्यक औषधि तथा विविध ल्याब सेवासमेत निःशुल्क वितरण गरिएको थियो ।

शिविरमा उपचार गराएकी नन्दकली थापाले सामान्यदेखि जटिल रोगसम्मको जाँच गाउँमै हुँदा समयमै रोग पत्ता लागेको र अस्पताल धाउनुपर्ने झन्झट नहुँदा धेरै सहज भएको बताइन् ।

कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारीले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको शिविरबाट नागरिकलाई प्रत्यक्ष लाभ पुगेको बताए । फाउन्डेसनका संस्थापक खुमाप्रसाद अर्यालले गाउँ क्षेत्रका नागरिकलाई लक्षित गर्दै उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न यस्ता स्वास्थ्य सेवा अभियान निरन्तर सञ्चालन गरिँदै आएको उल्लेख गरे । खुमा अर्याल फाउन्डेसनले हरेक वर्ष यस्ता रचनात्मक तथा राहत मूलक कार्यक्रमहरू गर्दै आएको जनाएको छ ।

Read more news from GandakNews

Explore by Source or Category