npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

सिन्हाले तारिफ गरेका सचिव मन्त्री राजेन्द्रको ‘रेडजोन’मा, हटाउने सर्तमा खानेपानी मन्त्रालयमा बहाली

Basudev Timalsina 16 hours ago

काठमाडौं। मेलम्चीका स्थानीयले संघर्ष समितिका नाममा काठमाडौंमा खानेपानीको आपूर्ति बन्द गरेपछि भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले खानेपानी मन्त्रालयका प्रतिनिधिसहितको बैठक राखेर कात्तिक २५ गते समझदारी गराए।

त्यतिखेर खानेपानी मन्त्रालय प्रधानमन्त्री सुशीला कार्कीले नै राखेकी थिइन्। आफ्नो अग्रसरतामा स्थानीयसँग गरेको सहमति कार्यान्वयनको प्रक्रिया अगाडि नबढेपछि कुलमान खानेपानी मन्त्रालयकी तत्कालीन सचिव प्रमिलादेवी बज्राचार्यसँग रुष्ट भए।

अनेक प्रक्रिया देखाएर सहमति कार्यान्वयनमा रोकावट गरेको भन्दै कुलमानले बज्राचार्यलाई खानेपानी मन्त्रालयबाट सरुवा गराउन प्रधानमन्त्री कार्कीलाई आग्रह गरे। कुलमानको आग्रहलाई प्रधानमन्त्री कार्कीले नाइनास्ती गरिनन्।

मंसिर २२ गते बसेको मन्त्रिपरिषद् बैठकले बज्राचार्यलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गर्‍यो। नेपाल ट्रष्टबाट राम आधार साह खानेपानी मन्त्रालय आए।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कानुनसहित तीन मन्त्रालयको नेतृत्व गरिरहेका अनिलकुमार सिन्हाको प्रस्तावमा साह खानेपानी मन्त्रालयमा सरुवा भएका थिए। सिन्हाले साह खानेपानी मन्त्रालयका लागि उपयुक्त भएको भनी प्रधानमन्त्री कार्कीसामु सिफारिस गरेका थिए।

‘कानुनमन्त्रीज्यूले साह एकदमै राम्रो कर्मचारी भनेर तारिफ गरेपछि उहाँ नेपाल ट्रष्टको कार्यालयबाट खानेपानी मन्त्रालयमा सरुवा हुनुभएको हो,’ स्रोतले भन्यो।

साहले खासमा ऊर्जा मन्त्रालयमा आउन चाहेका थिए। त्यसका लागि उनले एक बिचौलियालाई कुलमानसँग कुरा गर्न पठाएका थिए।

तर, कुलमान साहको नाम सुन्नेवित्तिकै ती बिचौलियासँग आक्रोशितरुपमा प्रस्तुत भए। त्यसपछि साहले मन्त्री सिन्हामार्फत खानेपानी मन्त्रालयमा सरुवाका लागि लबिइङ गरेका थिए।

८ सचिव सरुवाकै केही दिनपछि अर्थात मंसिर २६ गते प्रधानमन्त्री कार्कीले नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीसहित चार जनालाई मन्त्रिपरिषद्‍मा समावेश गरिन्। श्रममन्त्री नियुक्त भएको एक सातापछि अर्थात पुस ४ गते भण्डारीले खानेपानी मन्त्रालयको पनि नेतृत्व पाए।

मन्त्रालय थपिंदा भण्डारी धेरै उत्साही भएनन्। ‘खानेपानी मन्त्रालयका सचिव साहप्रति श्रममन्त्री भण्डारी पूरै नकारात्मक हुनुहुँदोरहेछ,’ स्रोतले भन्यो, ‘उहाँले सचिव साहलाई हटाउने भए मात्र बहाली गर्छु अन्यथा खानेपानी मन्त्रालयमा जान्न भन्नुभयो।’

साहलाई सरुवा गर्नुपर्ने सर्तमा भण्डारीले आइतबार अपराह्न खानेपानी मन्त्रालयमा बहाली गरेका छन्। भण्डारी खानेपानी सचिव साहसँग नकारात्मक हुनुको कारण उनको विवादित पृष्ठभूमि हो।

साह पेट्रोलियम पदार्थमा उपभोक्तालाई ठगीको आरोपमा २०७२ मंसिर २७ गते पक्राउ परेका थिए। वास्तविकभन्दा कम इन्धन दिइ उपभोक्ता ठगी गर्नका लागि भारतको बिहारबाट मिस्त्री झिकाई पेट्रोल पम्पहरुमा उपकरण जडान गरेको आरोपमा साहलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो।

पक्राउ पर्दा साह विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयमा सहसचिवका रुपमा कार्यरत थिए। नापतौल तथा गुणस्तर विभागको महानिर्देशकको जिम्मेवारीमा रहँदा उपभोक्तालाई ठगी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको आरोपमा साह पक्राउ परेका थिए।

२०६८ मंसिरमा विभागको महानिर्देशक बनेका साहले पेट्रोल पम्पलाई डिजिटल प्रणालीमा लगेका थिए। उनले व्यवसायीसँगको मिलेमतोमा उपभोक्तालाई ठगी गर्न पम्पको मिटर बिगार्न लगाएको आरोप लाग्यो। यसका लागि उनले मिस्त्री भारतबाटै बोलाएका थिए। मिस्त्रीले नै साहले मिटर बिगार्न लगाएको बयान दिएका थिए।

एमालेका तत्कालीन प्रमुख सचेतक भीम आचार्यको नेतृत्वमा २०६८ गठित समितिले समेत व्यवसायी र नापतौल विभागको मिलेमतोमा पम्पको मिटर बिगारेर उपभोक्तालाई कम परिमाणको तेल दिइ ठगी भएको प्रतिवेदन बुझाएको थियो।

तर, साहमाथि कुनै कारबाही गरिएको थिएन। आफूमाथि कारबाही नभएपछि साहले उपभोक्तालाई ठग्न पेट्रोल पम्पमा चिप्स प्रविधि प्रयोगमा ल्याए। चिप्स प्रविधि भित्र्याएर ठगीलाई संस्थागत गरेका साहले पम्पहरुसँग मासिकरुपमा पैसा उठाउने गरेको आरोप लागेको थियो।

महाशाखाले २०७२ मा राजधानीका १७ वटा पेट्रोल पम्पमा पम्पमा छापा मारेर अध्ययन गरेकामा त्यसमध्ये १३ वटा पम्पले वास्तविकभन्दा कम इन्धन उपलब्ध गराएर उपभोक्तालाई ठगी गरेको खुल्यो। त्यसपछि पम्प सञ्चालकहरुलाई ठगी मुद्दा चलाइनुका साथै ठगीको लागि आधार तयार पार्ने साह र नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्मा पक्राउ परेका थिए।

साह पक्राउ पर्दा भण्डारी नेपाल प्रहरीमै थिए। ‘साहले ठगीका लागि तयार पारेको पृष्ठभूमिबारे प्रहरीमा रहँदा भण्डारी राम्रो जानकार हुनुहुँदो रहेछ। त्यसैले उहाँले साहलाई खानेपानी मन्त्रालयको सचिवबाट हटाउनुपर्ने सर्तमा बहाली गर्नुभएको हो,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो।


The post सिन्हाले तारिफ गरेका सचिव मन्त्री राजेन्द्रको ‘रेडजोन’मा, हटाउने सर्तमा खानेपानी मन्त्रालयमा बहाली appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category