तपाइँ बीमा गर्ने योजनामा हुनुहुन्छ ? यी कुरामा विशेष ध्यान दिनुहोस्
जयराम गौतम
|
7 hours ago
काठमाडौं । बीमा एउटा महत्वपूर्ण वित्तीय औजार हो। यसले मानिसलाई भइपरी आउने घटनाबाट आर्थिक नोक्सानीको जोखिमबाट बचाउनका साथै परिवारलाई थप आर्थिक भारबाट सुरक्षित गर्छ।
हाल नेपालमा जीवन, निर्जीवन, लघु र पुनर्बीमा गरी ३७ वटा बीमा कम्पनी छन्। यी कम्पनीको कार्य फरक–फरक भए पनि उद्देश्य भनेको आमनागरिकलाई वित्तीय जोखिमबाट जोगाउने नै रहेको छ। त्यसैले सबैले आआफ्नो क्षमताअनुसार बीमा गर्नु नै अहिलेका लागि उपयुक्त विकल्प हो।
यदि कोही कसैले बीमा बीमा गर्ने योजना बनाउनुभएको छ भने केही कुरामा अवश्यक ध्यान दिनुपर्छ। किनकि बीमाबारे आवश्यक जानकारी लिएरमात्रै बीमा गर्नुपर्छ।
बीमा गर्दा के–के कुरामा विशेष ध्यान दिने ?
- बीमा फाराममा खुलाउनुपर्ने सम्पूर्ण विवरण स्पष्टसँग खुलाएर भर्ने।
- बीमालेखमा उल्लेखित सम्पूर्ण सर्त एवं सुविधाबारे जानकारी लिएरमात्र बीमा गर्ने।
- बीमितले आफ्नो आवश्यकता, पेसा–व्यवसाय एवं आम्दानीको स्रोतसमेतलाई ध्यानमा राखेर बीमा गर्नुपर्दछ। अन्यथा बीमा समायवधि पूरा नहुँदै बीमालेखलाई निरन्रता दिन नसकिने हुन सक्दैछ।
- बीमालेखको बीमाशुल्क बुझाउने, बीमालेख नवीकरण गर्ने समय, इच्छ्याएको व्यक्ति नाम, बीमालेखबमोजिम दाबी रकम पाउने र नपाउनेजस्ता विषयमा बीमालेख खरिद गर्नुअगाडि नै बुझ्नुपर्छ।
- बीमितले बीमाशुल्क बुझाएपछि यसको आधिकारिक भर्पाइ तथा रसिद लिनुपर्दछ।
- बीमासम्बन्धी प्रस्ताव फाराम बीमित स्वयंले भर्नुपर्दछ। बीमित निरक्षर वा प्रस्ताव फाराम भर्न नसक्ने भएमा निजले तोकेको व्यक्तिले प्रस्ताव फाराम भर्नुपर्छ।
- बीमितले आफूले बीमा गर्न लागेको बीमा कम्पनीका बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नुपर्छ।
- बीमालेख नवीकरण गर्ने समय ख्याल गरी समयमै बीमालेख नवीकरण गर्नुपर्छ।
- बीमासम्बन्धी नीति–नियमबारे जानकारी राख्नुपर्दछ।
- आफूले खरिद गरेको बीमालेखसँग सम्बन्धित सम्पूर्ण कागजात सुरक्षित राख्नुपर्दछ।
- प्रविधिको विकाससँगै विभिन्न बैंक तथा एसएमएसमार्फत घरमै बसी बीमाशुल्क बुझाउन सकिने भएको हुँदा सोसम्बन्धी यथेष्ट जानकारी लिएरमात्र बीमा गर्नुपर्दछ।
- बीमा गरिसकेपछि आफूले बीमा गरेको बारेमा परिवारका सदस्य तथा इच्छ्याएको व्यक्तिलाई जानकारी गराउनुपर्दछ। – स्रोत: बीमा प्राधिकरण