npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

प्रवासी अनुभव, त्याग र परिणाममुखी दृष्टिकोणसहित दीपक सुनुवारको समानुपातिक उम्मेदवारी

अनलाइन टीभी नेपाल 11 hours ago

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) बाट प्रवासी कोटाअन्तर्गत समानुपातिक उम्मेदवारका रूपमा दीपक सुनुवारले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।

भक्तपुर जिल्लाको चाँगुनारायणमा जन्मिएका सुनुवारले भारत, खाडी मुलुक, युरोप हुँदै संयुक्त राज्य अमेरिका सम्म २० वर्षभन्दा बढी समय श्रमिक तथा पेशागत जीवन बिताएका छन्। हाल उनी अमेरिकी प्रणालीअनुसार लाइसेन्स प्राप्त मास्टर टेक्निकल प्राविधिक हुन्। सो योग्यता हासिल गर्ने हालसम्मका एकमात्र नेपाली उनी नै भएको बताइन्छ।

उम्मेदवारी दर्तासँगै सुनुवार पार्टीले तय गरेको औपचारिक छनोट प्रक्रियामा सहभागी हुँदै विभिन्न चरण पार गरिरहेका छन्। रा.स्व.पाले समानुपातिक उम्मेदवार चयनका लागि योजना प्रस्तुति, दृष्टिकोण, क्षमता र प्रतिबद्धताको आधारमा बहुपर्याय मूल्यांकन प्रणाली लागू गरेको छ।

नेपालमा पहिलो पटक कुनै राजनीतिक दलले समानुपातिक उम्मेदवारी चयनमा यति खुला, पारदर्शी र चरणबद्ध अभ्यास सुरु गरेको भन्दै रा.स्व.पा.को यस पहललाई नयाँ राजनीतिक संस्कारको सुरुवातका रूपमा हेरिएको छ। लामो समयदेखि चल्दै आएको ‘टिका लगाएर उम्मेदवार छान्ने’ अभ्यासलाई तोड्दै पार्टीले नयाँ नजिर स्थापना गरेको उम्मेदवारहरूको भनाइ छ।

उम्मेदवारीबारे प्रतिक्रिया दिँदै सुनुवारले समानुपातिक प्रणाली प्रतिनिधित्वका लागि मात्र नभई देशलाई आवश्यक सीप, अनुभव र प्रणालीगत सोच संसदसम्म पुर्‍याउने माध्यम भएको बताए। “म पद माग्न होइन, जिम्मेवारी लिन राजनीतिमा आएको हुँ,” उनले भने।

उनका अनुसार प्रवासी नेपालीसँग सीप, अनुभव र पूँजी हुँदाहुँदै पनि त्यसलाई स्वदेशभित्र उत्पादन, रोजगारी र विकाससँग जोड्न सकिएको छैन। “समस्या भावनाको होइन, नीति र कार्यान्वयनबीचको दूरी हो,” सुनुवारको भनाइ छ।

उनले सुरक्षित वैदेशिक रोजगारी, स्वदेश फर्किएका श्रमिकको पुनःस्थापन, प्रवासी सीपको व्यवस्थित अभिलेख, अन्तर्राष्ट्रिय स्तरअनुसार सीप प्रमाणीकरण र स्वदेशमै रोजगारी सिर्जनालाई आफ्नो प्राथमिकताका रूपमा अघि सारेका छन्।

विशेष रूपमा उल्लेखनीय पक्ष के छ भने, सुनुवारले संयुक्त राज्य अमेरिकामा स्थापित सफल व्यवसाय, विलासी जीवनशैली र सुविधासम्पन्न जीवन त्यागेर अबको जीवन जन्मभूमि नेपालको सेवा र योगदानमा समर्पण गर्ने निर्णय गरेका छन्। उनका अनुसार यो निर्णय क्षणिक भावना होइन, देशप्रतिको दीर्घकालीन जिम्मेवारी बोध र सचेत प्रतिबद्धताबाट प्रेरित हो।

साउदी अरबमा रहँदा नेपाली श्रमिकले भोगेको पीडा प्रत्यक्ष देखेको र अमेरिकामा प्रणाली, अनुशासन तथा जवाफदेहिताबाट सिकेको अनुभवलाई नीति निर्माणमा उपयोग गर्ने उनको भनाइ छ।

“म संसदलाई भाषण गर्ने मञ्च होइन, नीति कार्यान्वयनलाई प्रभावकारी बनाउने माध्यमका रूपमा प्रयोग गर्न चाहन्छु,” सुनुवारले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रवासी नेपालीका लागि छुट्याएको १० प्रतिशत समानुपातिक कोटालाई अवसर होइन, देशप्रतिको थप जिम्मेवारीका रूपमा स्वीकार गर्दै, पार्टीले दिएको विश्वासलाई भाषण होइन, काम र परिणाममार्फत प्रमाणित गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

Read more news from Online Tv Nepal

Explore by Source or Category