निर्यात पाँच वर्षमा तेब्बर बनाउने एमालेको घोषणा, देशलाई ‘ल्याण्ड लिंक्ड निर्यातक’मा रूपान्तरण गर्ने
काठमाडौं। एमालेले चुनावी घोषणा पत्रमार्फत पाँच वर्षमा निर्यात तेब्बर बनाउने बताएको गरेको छ।
एमालेले विश्व बजारमा निर्यात भइरहेका नेपालमा उत्पादित वस्तुहरूको प्रवर्धन, सम्भावना भएका नयाँ वस्तु पहिचान र उत्पादन, व्यापार तथा पारवहन पूर्वाधार विकास र आर्थिक कुटनीतिका माध्यमबाट तीन वर्षमा निर्यात दोब्बर तथा पाँच वर्षमा निर्यात तेब्बर गरी आयातको एक चौथाइ अंश धान्ने बनाउने बताएको हो।
‘उच्च मूल्यका प्रशोधित कृषि उपज, सूचना प्रविधि, विद्युत, पिउने पानी, औद्योगिक उत्पादन, बहुमूल्य खनिज तथा वित्तीय सेवा ठूलो परिमाणमा निर्यात गर्न समग्र राष्ट्रिय सामर्थ्यको अधिक परिचालन गर्नेछौं। निर्यातयोग्य वस्तु वा सेवाहरूको गुणस्तर र विश्वसनीयता वृद्धि गर्न एवं दिगो आपूर्ति सुनिश्चित गर्न अर्थतन्त्रका सबै क्षेत्र र बाह्य क्षेत्रसँगको कुटनीतिक सम्बन्धलाई निर्यात पहिलाको नीति कार्यान्वयन गर्न केन्द्रित गर्नेछौं,’ घोषणापत्रमा भनिएको छ।
देशलाई ‘ल्याण्ड लक्ड आयातकर्ता’बाट ‘ल्याण्ड लिंक्ड निर्यातक’मा रूपान्तरण गर्ने एमालेको घोषणा छ। ‘भारत र चीन एवं अन्य मित्रराष्ट्रसँग निर्वाध र स्वच्छ व्यापारका लागि नेपालको अधिकतम हित हुने गरी दुईपक्षीय र बहुपक्षीय सन्धि सम्झौता कार्यान्वयन गर्नेछौं। व्यापार प्रवर्धनका लागि आवश्यक थप नयाँ सन्धि र सम्झौता गर्नेछौं,’ एमालेले भनेको छ।
भारतसँगका स्थलगत व्यापारिक नाका र आन्तरिक जलमार्ग हुँदै सामुद्रिक बन्दरगाहसम्मको व्यापारिक पहुँचको पूर्ण उपयोग गर्ने घोषणापत्रमा उल्लेख छ।
एमालेले चीनसँग गरिएको पारवहन तथा यातायात सम्झौता अनुसार तेस्रो मुलुकसँग व्यापार गर्न उपलब्ध चिनियाँ बन्दरगाहको उपभोग गरी अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने बताएको छ।
The post निर्यात पाँच वर्षमा तेब्बर बनाउने एमालेको घोषणा, देशलाई ‘ल्याण्ड लिंक्ड निर्यातक’मा रूपान्तरण गर्ने appeared first on BIZMANDU.