npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

पिएसजीको शानदार पुनरागमन जित

Prakash Timalsina 3 days ago

एजेन्सी – परिवर्तित खेलाडी डिजिरे डुए को उत्कृष्ट प्रदर्शनमा साविक विजेता पेरिस सेन्टजर्मेन (पिएसजी) ले मोनाको विरुद्ध शानदार पुनरागमन जित निकालेको छ।

च्याम्पियन्स लिग प्ले अफको पहिलो लेगमा मंगलवार पिएसजीले २-० ले पछि परेको खेल उल्टाउँदै ३-२ को जित हासिल गरेको हो।

खेलको पहिलो मिनेटमै फोलारिन बालोगुनले गोल गर्दै मोनाकोले अग्रता लिएको थियो। त्यसपछि १८औं मिनेटमा बालोगुनले अर्को गोल गर्दै मोनाकोको अग्रता दोब्बर बनाए।

पिएसजीले २२औं मिनेटमा पेनाल्टी पाएको थियो। तर भिटिन्हा को प्रहार गोलकिपर फिलिप कोनले बचाए।
त्यसपछि प्रशिक्षक लुइस एनरिके ले डुएलाई मैदान पठाए र जसको प्रभाव खेलमा देखियो ।

२९औं मिनेटमा डुएले गोल गर्दै पिएसजीलाई खेलमा फर्काए। त्यसपछि ४१ औं मिनेटमा डुएको प्रहार गोलकिपरले रोक्दा रिबाउन्डमा अशरफ हाकिमी ले गोल गर्दै खेल २-२ बराबरी बनाए।

दोस्रो हाफ सुरु भएको ३ मिनेटमा मोनाकाका अलेक्जान्दर गोलोभिन ले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।

यसको फाइदा उठाउँदै ६७औं मिनेटमा डुएले आफ्नो दोस्रो गोल गर्दै पिएसजीलाई ३-२ को जित दिलाए।
अब दोस्रो लेग फेब्रुअरी २५ मा पेरिसमा हुनेछ।

भिनिसियसको गोलमा रियलको जित

भिनिसियस जुनियर को शानदार गोलको मद्दतमा रियल म्याड्रिडले च्याम्पियन्स लिग प्ले अफको पहिलो लेगमा बेन्फिका लाई १-० ले हराएको छ।

एस्टाडियो दा लुजमा भिनिसियसको गोलपछि भएको विवादका कारण १० मिनेट रोकिएको थियो। ५०औं मिनेटमा गोल गरेपछि भिनिसियस आफूमाथि केही भनिएको भन्दै निकै रिसाएका देखिएका थिए। उनी केही समय बेन्चमा बसेका थिए र खेल्न नचाहेको जस्तो देखिए पनि पछि फर्किएर खेल पूरा खेले।

खेलको सुरुवातमा रियलले राम्रो प्रदर्शन गर्न सकेन। तर पहिलो हाफको अन्त्यतिर भने रियलले लगातार अवसर बनाएको थियो। भिनिसियसको एउटा प्रहार बाहिर गयो।‌ उनको पासमा किलियन एम्बाप्पे ले गोल गर्ने राम्रो मौका गुमाए।

एम्बाप्पेको अर्को प्रहार पनि बेन्फिकाका गोलकिपर अनातोली ट्रुबिन ले बचाए। ट्रुबिनले अर्डा गुलरको प्रहार पनि रोकेपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

तर दोस्रो हाफमा भिनिसियसले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै बक्स बाहिरबाट सुन्दर कर्लिङ गोल गरे र रियललाई अग्रता दिलाए।

गोलपछि बेन्फिकाका खेलाडी जियानलुका प्रेस्टियानीसँग विवाद भएपछि भिनिसियस रेफ्री फ्रान्कोइस लेटेक्सियर कहाँ पुगेका थिए। जातीय दुर्व्यवहारको आशंकापछि युइएफएको नियमअनुसार खेल केही समय रोकिएको थियो।

त्यसपछि पनि रियलले खेलमा दबाब कायम राख्यो। अन्त्यतिर बेन्फिकाका प्रशिक्षक जोस मोरिन्होले लगातार दुई पहेंलो कार्डपछि रातो कार्ड पाए र मैदान छाडे। दोस्रो लेगमा उनी टच लाइनमा बस्न पाउने छैनन् ।

च्याम्पियन्स लिगको अन्य खेलको प्ले अफको पहिलो लेगमा बोरुसिया डर्टमुन्ड र गालातासरे विजयी भएका छन्। डर्टमुन्डले एटलान्टालाई २-० र गालातासरे युभेन्टसलाई ५-२ ले हराएको छ।

The post पिएसजीको शानदार पुनरागमन जित first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category