PalikaNews
दोसल्लेका किसान विकास श्रेष्ठको सफलता : सुन्तला बिक्रीबाट २० लाख आम्दानी
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष सुन्तला बिक्रीबाट रु २० लाख आम्दानी गरेका छन् । १५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गरेका श्रेष्ठले म्याग्दीमा सबैभन्दा ढिलो सुन्तला टिपेर बजार पठाउँदा सामान्यभन्दा करिब दोब्बर मूल्य पाउन सफल भएको हुन् ।
श्रेष्ठद्वारा सञ्चालित अन्नपूर्ण फलफूल तथा तरकारी फार्मबाट प्रतिकिलो रु २०० का दरले काठमाडौँका व्यापारीले सुन्तला खरिद गरेका हुन् । म्याग्दीमा पुस महिनामा प्रतिकिलो रु ७० मा बिक्री भएको सुन्तला माघदेखि मूल्य बढ्दै फागुन २ गतेसम्म रु २०० पुगेको श्रेष्ठले बताउनुभयो । उत्पादन गत वर्षको तुलनामा ४० प्रतिशतले घटे पनि राम्रो मूल्य पाउँदा आम्दानीमा असर नपरेको उनको भनाइ छ ।
गत वर्ष उनले सरदर प्रतिकिलो रु १०० का दरले करिब रु १५ लाखको सुन्तला बिक्री गर्नुभएको थियो । बगैँचामा रहेका ७०० बोटमध्ये यस वर्ष ३०० बोटमा मात्र फल लागेको थियो । श्रेष्ठले आफ्नोसँगै अन्य किसानको करिब रु १ करोड ३० लाख बराबरको सुन्तला बिक्रीको व्यवस्था मिलाउनुभएको छ । दोसल्लेका ४२ घरपरिवार किसानले यस वर्ष करिब रु २ करोड बराबरको सुन्तला बिक्री गरेको दोसल्ले सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिए ।
बेनीमा पोल्ट्री र घरजग्गा व्यवसाय गर्दै आउनुभएका श्रेष्ठले विसं २०७६ मा सोखका लागि सुरु गरेको सुन्तलाखेती अहिले सफल व्यावसायिक कृषि बनेको छ । पाखोबारी घेराबार, गरा निर्माण, बिरुवा रोपाइँ, मलजल, संरचना निर्माण र जग्गा खरिदसहित फार्ममा करिब रु ३ करोड ५० लाख लगानी भएको उनले बताए । “कृषिबाट यति राम्रो आम्दानी हुन्छ भन्ने सोचेको थिइनँ, गर्न सके सम्भव रहेछ,” उने भने,“थप जमिन खरिद गरेर फार्म विस्तार गर्ने योजनामा छु ।”
फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन् । सुन्तलासँगै लोकल र बोइलर कुखुरा पनि पालिएको छ, जसबाट प्राप्त सुली मलका रूपमा उपयोगी भएको श्रेष्ठको अनुभव छ । हालसम्म सरकारी अनुदान नलिएको उनले बताए ।
काठमाडौँको बल्खुस्थित व्यापारीसँग सिधैँ सम्पर्क गरी बजार सुनिश्चित गरेपछि उचित मूल्य पाएको उनको भनाइ छ । घरजग्गा व्यवसाय छाडेर कृषि रोज्नुभएका श्रेष्ठले बेनीस्थित जलेश्वर पोल्ट्री फर्म सञ्चालनको जिम्मा छोरा आदेशलाई दिएका छन् । गाउँ फर्केर कृषि व्यवसायमा लागेका श्रेष्ठ अन्य किसानका लागि प्रेरणाको स्रोत बनेको स्थानीय अगुवा किसान खगवीर पाइजाले बताए ।
दोसल्ले क्षेत्रमा सुन्तलाखेतीका लागि जग्गा खरिद गर्नेको सङ्ख्या बढेको र खेतबारीको मूल्यसमेत बढेको पाइजाको भनाइ छ । श्रेष्ठको बगैँचा अवलोकन गर्न बेनी र आसपासका क्षेत्रबाट किसान तथा व्यवसायी आउने गरेका छन् । बगैँचाबाट निलगिरि र धौलागिरि हिमाल देखिने रमणीय दृश्यले कृषि पर्यटन प्रवद्र्धनको सम्भावना बढाएको छ ।
समुद्री सतहदेखि करिब १,५०० मिटर उचाइमा रहेको दोसल्ले गाउँका किसानले सुन्तलाखेतीलाई मुख्य आयस्रोतका रूपमा विकास गर्दै आएका छन् ।