वेस्ट इन्डिजद्वारा इटाली ४२ रनले पराजित
काठमाडाैं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को समूह चरणको आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजले इटालीलाई ४२ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ। कोलकाताको इडेन गार्डेनमा बिहीबार भएको खेलमा कप्तान शाई होपको विष्फोटक ब्याटिङ र शमार जोसेफको घातक बलिङको मद्दतले वेस्ट इन्डिजले सहज जित दर्ता गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। टोलीका लागि कप्तान शाई होपले सर्वाधिक ७५ रनको योगदान दिए। उनले मात्र ४६ बलको सामना गर्दै ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै, रोस्टन चेस र शेर्फान रदरफोर्डले समान २४–२४ रन जोडे।
इटालीका बलर कृसन कालुगामागे र बेन्जामिन मानेन्तीले समान २–२ विकेट लिए पनि वेस्ट इन्डिजको रन गति रोक्न सकेनन्।
१६६ रनको लक्ष्य पछ्याएको इटाली १८ ओभरमा मात्र १२३ रन बनाउँदा अल–आउट हुन पुग्यो। इटालीका लागि बेन्जामिन मानेन्तीले २६ रन र जेजे स्मट्सले २४ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्।
वेस्ट इन्डिजका तिव्र गतिका बलर शमार जोसेफले घातक बलिङ गर्दै ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए। उनलाई म्याथ्यु फोर्डले ३ विकेट लिएर राम्रो साथ दिए।