मुक्तिनाथले सिइओमा तिल गुरुङलाई पत्याएन, पुराना डिसिइओ मानन्धर सिइओ नियुक्त
काठमाडौँ । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकको बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई सिइओ नियुक्त गरेको हो ।
हालका सिइओ प्रद्युमन पोखरेलको कार्यकाल बैशाखमा सकिने भएसँगै मानन्धरलाई जेठ १ गतदेखि लागू हुनेगरी बैंकको सिइओ नियुक्त गरिएको बैंकका एक सञ्चालकले बताएका छन् ।
यसो त यसअघि बैंकका डेपुटी सिइओ तिल गुरुङ सिइओ हुने चर्चा थियो । गुरुङलाई सिइओ बनाउने विषयमा बैंक सञ्चालकहरुले अनौपचारिक छलफलसमेत गरेका थिए । तर, विगतमा विभिन्न विषयमा विवादित रहेको र बैंकका विभिन्न केस ह्याण्डल गर्न नसकेको भन्दै सञ्चालकबीचमै कुरा उठेपछि गुरुङलाई सिइओ बनाउने तयारीबाट बैंक पछि हटेको थियो ।
अर्कोतर्फ मानन्धर राजनीतिक रुपमा पनि सक्रिय छन् । राजनीतिक रुपमा ‘एक्सपोज’ भएको र सिइओ नियुक्त गरेपछि थप विवादमा तानिने देखिएपछि बैंकले उनलाई सिइओ नबनाउने निर्णय गरेको थियो ।
बैंकको सिइओ बन्ने दौडबाट गुरुङ ‘आउट’ भएपछि बैंकले मुक्तिनाथ विकास बैंकका पूर्व डेपुटी सिइओसमेत रहेका मानन्धरलाई सिइओ बनाउने सहमति भएको बैंकका एक सञ्चालकले बताएका छन् ।
को हुन् तारा मानन्धर ?
बैंकिङ क्षेत्रमा लामो समय काम गरेका मानन्धर प्रभु बैंकका पूर्व डेपुटी सिइओ हुन् । डेपुटी सिइओको रुपमा प्रभु बैंकमा गज्जबको काम गरेका मानन्धर पछि मुक्तिनाथ विकास बैंकको डेपुटी सिइओ बनेका थिए ।
मुक्तिनाथ विकास बैंकपछि उनी कैलाश विकास बैंक गएका थिए । कैलाश विकास बैंक प्राइम बैंकसँग मर्ज भएपछि उनी डिस मिडिया नेटवर्कमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएर गएका थिए । प्रभु बैंकको सञ्चालक समेत बनेका मानन्धर हाल डिसहोमका सिइओ छन् ।