‘बिरामीका भिडियो सार्वजनिक नगर्नू’
काउन्सिलका अनुसार पछिल्लो समय टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता प्लेटफर्ममा चिकित्सकहरूले बिना परीक्षण नै औषधि सिफारिस गर्ने, उपचारका उपाय सुझाउने र स्वास्थ्यसम्बन्धी सामग्री व्यापक रूपमा फैलाउने प्रवृत्ति बढ्दो छ। यस्तो कार्यले बिरामीलाई भ्रममा पार्नुका साथै अनावश्यक डर र जटिलता उत्पन्न गर्न सक्ने चेतावनी दिइएको छ।
विज्ञप्तिमा स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले बिरामीको प्रत्यक्ष परीक्षण, आवश्यक जाँच र दर्ता प्राप्त चिकित्सकको मूल्यांकनबिना औषधि सेवन गर्न सल्लाह दिनु जोखिमपूर्ण हुने उल्लेख गरिएको छ। यस्ता अवैज्ञानिक र गैरजिम्मेवार सूचना तथा सुझावले दीर्घकालीन रूपमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने काउन्सिलको भनाइ छ।
काउन्सिलले चिकित्सकहरूलाई बिरामीको गोपनीयता कायम राख्न, परीक्षणविना औषधि सिफारिस नगर्न र स्वास्थ्यसम्बन्धी जानकारी दिँदा वैज्ञानिक प्रमाण तथा पेसागत आचारसंहिता पालना गर्न आग्रह गरेको छ। साथै, सर्वसाधारणलाई पनि सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहका आधारमा औषधि प्रयोग नगरी योग्य चिकित्सकसँग मात्र परामर्श लिन अनुरोध गरिएको छ।
