npl.977 Nepal News Stream

Taksar News logo Taksar News

चैत १ गतेभित्र नयाँ संसद भवन हस्तान्तरण गर्न मन्त्री इङनामको निर्देशन

टक्सार न्युज 15 hours ago

काठमाडौँ । निर्माणाधीन नयाँ संघीय संसद भवनको काम तोकिएको समयमै सम्पन्न गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनामले निर्माण पक्षलाई कडा निर्देशन दिएका हुन्। मन्त्री इङनामले चैत १ गतेभित्र भवन हस्तान्तरण गर्न स्पष्ट निर्देशन दिएका छन् ।

भवन निर्माणको प्रगतिबारे स्थलगत अनुगमनपछि मन्त्री इङनामले कामको गतिप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधि सभा मात्र होइन, राष्ट्रिय सभा, सेन्ट्रल लबी तथा सचिवालयका भवनहरू समेत निर्धारित समयभित्रै हस्तान्तरण गर्नुपर्ने बताए ।उनले निर्धारित मितिभन्दा पछि सारिने कुनै बहाना स्वीकार्य नहुने स्पष्ट पारे ।

अनुगमनका क्रममा सिभिलतर्फको अधिकांश काम सम्पन्न भए पनि फिनिसिङका काममा ढिलाइ भएको पाइएको थियो। त्यसपछि मन्त्रीले दक्ष जनशक्ति थप्न निर्देशन दिनुभएको थियो। निर्देशनपछि निर्माण कम्पनीले बारा र रौतहटबाट थप कामदार झिकाएर कामलाई तीव्रता दिएको जनाएको छ।

मन्त्री इङनामका अनुसार निर्माण प्रक्रियामा केही प्राविधिक चुनौती पनि देखिएका छन्। विशेषगरी चीनबाट ल्याउनुपर्ने केही सामग्री क्रिसमस तथा अन्य बिदाका कारण ढिलो भएको ठेकेदारले जानकारी दिएको छ। ती सामग्री फागुन २५ गतेसम्म आइपुग्ने र जडान कार्य एक साताभित्र सम्पन्न गर्ने आश्वासन निर्माण पक्षले दिएको छ।

त्यसैगरी भारतबाट ल्याउनुपर्ने ३० मिटर लामो इलेक्ट्रोनिक प्यानल तथा ४ मेगावाट क्षमताको विद्युतीय प्रणाली जडानको काम पनि बाँकी रहेको जनाइएको छ। वीरगञ्ज भन्सारमा रोकिएका सामग्री आउने क्रम सुरु भइसकेकाले चैतको सुरुवातमै भवन पूर्ण रूपमा तयार हुने विश्वास मन्त्रीले व्यक्त गरे ।

मन्त्री इङनामले चैत १ गतेदेखि विशेषगरी सेन्ट्रल लबी, प्रतिनिधि सभा भवन, क्यान्टिन तथा सांसदहरूका कार्यकक्ष हस्तान्तरण हुनेमा आफू आशावादी रहेको बताए। नयाँ भवन हस्तान्तरण भएसँगै संघीय संसदका बैठकहरू आफ्नै अत्याधुनिक भवनबाट सञ्चालन हुने अपेक्षा गरिएको छ।

Read more news from Taksar News

Explore by Source or Category