मेटाले यसै वर्ष ‘मालिबु २’ कोड नाम दिइएको स्मार्टवाच सार्वजनिक गर्ने, कस्तो हुनेछ फिचर?
काठमाडौं। मेटाले यसै वर्ष आफ्नो स्मार्टवाच लन्च गर्ने भएको छ। द इन्फर्मेसनको रिपोर्टअनुसार ‘मालिबु २’ कोड-नाम दिइएको यो स्मार्टवाचमा एप्पल वाचमा जस्तै स्वास्थ्यसम्बन्धी फिचरहरू हुने अनुमान गरिएको छ।
मेटाले परिस्कृत रे-बेन डिस्प्ले स्मार्ट चश्मासँगै यो स्मार्टवाचलाई डेब्यू गराउन सक्ने अनुमान गरिएको छ।
रिपोर्टअनुसार कम्पनीको फिनिक्स कोड-नाम दिइएको ‘मिक्स्ड रियालिटी’ चश्मा ल्याउने योजना पनि पछि सरेको छ। कम्पनीले उक्त चश्मा सन् २०२७ मा मात्रै ल्याउने भएको छ।
मेटाले स्मार्टवाचको घोषणा गरेको यो पहिलो पटक भने होइन। फेसबुकको माउ कम्पनी समेत रहेको मेटाले प्राविधिक चुनौतीहरू र लागत कटौती गर्नुपर्ने अवस्था सिर्जना हुँदा सन् २०२२ मा स्मार्टवाचको योजना खारेज गरेको थियो।
कम्पनीले मालिबु २ स्मार्टवाचको बारेमा विस्तृत विवरणहरू सार्वजनिक गरेको छैन। त्यसैले धेरैमाझ यसका फिचरहरू चासो बनेको छ।
मेटाले सन् २०२५ मा रे-ब्यान डिस्प्ले एआर चश्मा सार्वजनिक गरेपछि यो स्मार्टवाचको योजना अघि सारेको थियो। कम्पनीले ‘अप्रत्यासित माग र सीमित स्टक’का कारण अमेरिकाबाहिर उक्त चश्मा सार्वजनिक गर्ने योजना रोक्नु परेको घोषणा गरेको थियो।
गत जनवरीमा मेटाले १ हजारभन्दा बढी कर्मचारी कटौती गर्दै आफ्नो ‘रियालिटी ल्याब्स’ डिभिजन पुनर्संरचना गरेको घोषणा गरेको थियो। प्रमुख प्रविधि अधिकारी एन्ड्रयू बोसवर्थले कर्मचारीहरूलाई आन्तरिक रुपमा पत्र पठाएर डिभिजनका लागि दीगो व्यापार मोडेल सिर्जना गर्न आवश्यक कदमका रूपमा उक्त कटौतीको बचाउ गरेका थिए।
यसले आर्टिफिसियल इन्टेलिजेन्सयुक्त डिभाइस र मोबाइल इन्टिग्रेसका लागि ‘मेटाभर्स’मा केन्द्रित रणनीतिकबाट कम्पनी पछाडि हटेको समेत संकेत गरेको छ।
The post मेटाले यसै वर्ष ‘मालिबु २’ कोड नाम दिइएको स्मार्टवाच सार्वजनिक गर्ने, कस्तो हुनेछ फिचर? appeared first on BIZMANDU.