डिजल र पेट्रोलभन्दा बढी कच्चा सोयाबिन तेल आयात, ५ महिनामा कति भित्रियो?
काठमाडौं। चालु आर्थिक वर्षको ५ महिनामा कच्चा सोयाबिन तेल सबैभन्दा धेरै आयात हुने वस्तु बनेको छ। यो अवधिमा सोयाबिन क्रुडको आयात पेट्रोल र डिजलभन्दा पनि बढी भएको हो।
व्यवसायीले भारतमा तेलको माग भएपछि कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन्।
भन्सार विभागले जारी गरेको मंसिर महिनासम्मको आयात तथ्यांकअनुसार ४६ अर्ब ९७ करोड १ लाख ४८ हजार रुपैयाँको ३० करोड ३७ लाख ६६ हजार ८७ लिटर कच्चा सोयाबिन तेल आयात भएको छ। गत वर्ष सोही अविधमा ७ अर्ब २१ करोड ६ लाख ३७ हजार रुपैयाँको ५ करोड २९ लाख ५९ हजार ३१ लिटर कच्चा सोयाबिन तेलको आयात भएको थियो।
त्यस्तै, यस अवधिमा ४५ अर्ब ६० करोड ६२ लाख ११ हजार रुपैयाँको ४ लाख ८७ हजार ८५६ किलो लिटर डिजेल आयात भएको छ। यसैगरी, २७ अर्ब ३३ करोड २ लाख १४ हजार रुपैयाँको ३ लाख १४ हजार ६६३ किलो लिटर पेट्रोल आयात भएको छ।
२२ अर्ब ३९ करोड ४६ लाख रुपैयाँको २२ करोड ७३ लाख ४४ हजार ६७९ किलो खाना पकाउने एलपीजी ग्यास आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।
साथै, चालु आवमा कच्चा सूर्यमुखी तेल ७ अर्ब ६१ करोड ४ लाख ५३ हजार रुपैयाँको ४ करोड ८९ लाख ४४ हजार १२५ लिटर आयात भएको छ।
साढे ४६ अर्बको सोयाबिन तेल निर्यात
चालु आर्थिक वर्षको ५ महिनामा नेपालबाट ४६ अर्ब ५५ करोड ८६ लाख ६६ हजार रुपैयाँको २२ करोड ५२ लाख ८८ हजार ८४२ किलो सोयाबिन तेल निर्यात भएको छ। गत कात्तिकसम्म ३८ अर्ब ४३ करोडको सोयाबिन तेल निर्यात भएको थियो।
गत आर्थिक वर्षको मंसिरसम्म करिब ८ अर्ब ३६ करोड रुपैयाँको ४ करोड १८ लाख ५४ हजार ३०२ किलो सोयाबिन तेल निर्यात भएको थियो।
यस्तै, मंसिरसम्म ३ अर्ब ७३ करोड ६८ लाख २३ हजार रुपैयाँको १ करोड ७१ लाख २२ हजार ४११ लिटर सूर्यमुखी तेलको निर्यात भएको छ।
गत वर्ष मंसिरसम्म २ अर्ब ९७ करोड ६१ लाख ५ हजारको १ करोड ५० लाख ३८ हजार ४५१ लिटर सूर्यमुखी तेल निर्यात भएको थियो।
The post डिजल र पेट्रोलभन्दा बढी कच्चा सोयाबिन तेल आयात, ५ महिनामा कति भित्रियो? appeared first on BIZMANDU.