npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

कांग्रेसले प्रतिनिधिसभा पुन:स्थापना मागको पूरक रिट लैजाँदै, ६८ जनाले गरे हस्ताक्षर

Netra Tamang 2 days ago

काठमाडौं। घोषित मितिमा निर्वाचन हुने शंका गर्दै प्रतिनिधि सभा पुनःस्थापनाको रिट लिएर सर्वोच्च अदालत पुगेका कांग्रेस नेताहरुले पूरक रिट पनि दिने भएका छन्। यसका लागि कांग्रेसका ६५ जना पूर्वसांसदले हस्ताक्षर गरिसकेका छन्।

निवेदनका लागि कागजपत्र तयार भइरहेको विघटित प्रतिनिधि सभामा कांग्रेसबाट प्रमुख सचेतक रहेका श्याम घिमिरेले बताए। ‘हाम्रा ६५ पूर्वसांसदले हस्ताक्षर गर्नुभएको छ। यसमा जनमत र जनता समाजवादी पार्टीका सांसदले पनि हस्ताक्षर गर्नुभएको छ,’ उनले भने, ‘अहिले हस्ताक्षर ६८ जनाको पुगेको छ। यो कागजात मिलाएर कानुन व्यवसायीमार्फत निवेदन दिन लागेका हौं।’

कांग्रेसले यसअघि पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खातीमार्फत सर्वोच्चमा रिट दायर गरेको थियो। उक्त रिटमाथि मंसिर २ गते सुनुवाई गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो। कांग्रेसका ८ निवर्तमान सांसदले मंसिर २३ गते नै प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए।

घिमिरेसहित निवर्तमान सचेतक सुशीला थिङ, सांसदहरु दीपक खड्का, जाबेदा खातुन जागा, आशा बिक, सीता राना, शान्ति बिक र नागिना यादवले रिट दर्ता गरेका हुन्।

कांग्रेसले यसअघि नै रिट दर्ता गरिसकेको उल्लेख गर्दै खातीले अहिले सरोकारवालाको तर्फबाट पूरक रिटका रूपमा निवेदन दिन लागेको बताए। ‘सरोकारवाला वालाहरुको रुपमा सामेल भइ प्रतिनिधि सभा पुनर्बहाली गरी पाउँ भन्दै माग गर्ने हो,’ पूर्वमहान्यायाधिवक्ता खातीले भने। यसका लागि कागजात मिलाउन समय लाग्ने भएकोले मंगलबारमात्र निवेदन दर्ता हुने सम्भावना भएको उनले बताए।

एमालेका तर्फबाट ७५ सांसदसहित निवर्तमान प्रमुख सचेतक बर्तौला र सचेतक सुनिता बरालले सर्वोच्च अदालतमा मंसिर १० गते रिट दायर गरेका थिए। जेनजी विद्रोहपछि भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्ति गरेसँगै सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको थियो।

The post कांग्रेसले प्रतिनिधिसभा पुन:स्थापना मागको पूरक रिट लैजाँदै, ६८ जनाले गरे हस्ताक्षर appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category