PalikaNews
अब ट्रायल पास गरेको २४ घण्टामै लाइसेन्स हातमा
काठमाडौँ — बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्र मा पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको अवस्था अवलोकन गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले ट्रायल पास गरेका नागरिकले महिनौँसम्म लाइसेन्स नपाउने समस्याको अन्त्य गर्न सरकारले नयाँ व्यवस्था लागू गरेको जानकारी दिए । अब ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छापी हस्तान्तरण गर्ने प्रणाली लागू भएको उनको भनाइ छ ।
उनले बाँकी रहेका सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको उल्लेख गर्दै छपाइ प्रक्रियालाई तीव्र बनाउन निर्देशन दिए । “सम्भव कामलाई असम्भव भनेर रोकेर राख्ने प्रवृत्ति अब अन्त्य हुन्छ,” मन्त्री तिमिल्सिनाले भने ।
मन्त्री तिमिल्सिनाले केन्द्रलाई राज्यको महत्वपूर्ण सम्पत्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै लामो समयदेखि प्रयोगविहीन रहेका उपकरणहरू तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो। करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण वर्षौँसम्म प्रयोगमा नआएकोप्रति असन्तुष्टि जनाउँदै अब ती सबैलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने बताए ।
यसैगरी, नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकता दिन, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न र गुनासो समाधानलाई प्रभावकारी बनाउन पनि उनले निर्देशन दिए ।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार लाइसेन्स छपाइ भइरहेको छ । आगामी वैशाख १२ गतेभित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको छ ।
भविष्यमा यही केन्द्रबाट राहदानी, स्मार्टकार्ड, चेकबुक, हुलाक टिकट र अन्तःशुल्क स्टिकरजस्ता महत्वपूर्ण कागजात छाप्ने योजना समेत अघि बढाइएको छ ।