सबै विषयगत समितिमा एकल उम्मेदवारी
काठमाडौँ- संघीय संसदका सबै विषयगत समितिका सभापतिमा एकल उम्मेदवारी परेको छ। प्रतिनिधिसभाअन्तर्गतका ९ र १ संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) का विषयगत समितिका सभापतिमा एकल उम्मेदवारी परेको हो।
एकल उम्मेदवारी दर्ता भएसँगै समितिका सभापतिहरू निर्विरोध निर्वाचित हुने पक्का भएको छ।
समितिका सभापतिमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ९ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसदले मनोनयन दर्ता गराएका हुन्।
संसद सचिवालयले समितिको सभापतिमा मनोनयन दर्ताका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकेको थियो। यस अवधिमा १२ समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध भएका छन्।
सबै समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले शुक्रबार बस्ने समिति बैठकले निर्वाचित भएको घोषणा गर्ने जनाइएको छ।
प्रतिनिधिसभामा सत्तारुढ दल रास्वपाका १८२ सांसद छन्। रास्वपाको बिहीबार बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट प्रतिनिधिसभाका ९ र संयुक्त २ समितिमा पार्टीका सांसदलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
त्यस्तै रास्वपाले सार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको थियो। विपक्षी दलहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले पनि लेखा समिति सभापतिमा कांग्रेसलाई समर्थन गरेको छ।
यी हुन् रास्वपाबाट निर्विरोध भएका समिति सभापतिहरू
समीक्षा बास्कोटा : कानुन न्याय तथा मानवअधिकार
कषि सहकारी तथा प्राकृतिक श्रोत : अशोक चौधरी
पूर्वाधार विकास : आशिष गजुरेल
महिला तथा सामाजिक मामिला : आकृति अवस्थी
राज्य व्यवस्था तथा सुशासन : हरि ढकाल
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि : डा. ओजस्वी शेरचन
संसदीय सुनुवाई : वोधनारायण श्रेष्ठ (संयुक्त)
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन : गणेश कार्की (संयुक्त)
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन : सुम्नीमा उदास
अर्थ : कृष्णहरि बुढाथोकी
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित : रहवर अन्सारी
नेपाली कांग्रेस
सार्वजनिक लेखा : भरत खड्का