npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

सुनसरीमा चुनौती बन्दै सवारी दुर्घटना र बाढी–डुबान

केन्द्रबिन्दु 3 hours ago

धरान (सुनसरी) । अघिल्लो वर्ष सवारी दुर्घटना, बाढी, पहिरो र डुबानले सुनसरी जिल्लाले बहुआयामिक चुनौती झेल्नु परेको थियो । पूर्व–पश्चिम राजमार्ग तथा सहायक सडकहरूमा भएका दुर्घटनामा कैयौँले ज्यान गुमाए भने दर्जनौँ घाइते भए । तीव्र गति, लापरबाही र सडक सुरक्षाको कमजोर कार्यान्वयन दुर्घटनाका प्रमुख कारणका रूपमा देखिए ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार लगातार भइरहेका दुर्घटनाको अध्ययन गर्दा जथाभावी सडक खन्ने प्रवृत्ति पनि जिम्मेवार देखिएको छ । सडक निर्माण भए पनि आवश्यक अध्ययन बिना जथाभावी सडक खन्ने गरिएको उनको भनाइ छ ।

दुर्घटना कम गर्न विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) र मदिरा सेवन (मापसे) गरेर सवारी चलाउने चालकहरूलाई नियन्त्रणमा लिइँदै आएको छ । नशालु पदार्थ सेवन गरेर सवारी चलाउँदा चालक मात्र होइन, यात्रुको जीवनसमेत जोखिममा पर्ने भएकाले निरन्तर सचेतना कार्यक्रम सञ्चालन गरिँदै आएको प्रहरी उपरीक्षक गिरीले बताए ।

आर्थिक वर्ष २०८२ आठ महिनाको अवधिमा सुनसरी जिल्लामा एक हजार ५०४ वटा दुर्घटना हुँदा ८७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै एक सय ५३ जना गम्भीर र एक हजार पाँच सय ६२ जना साधारण घाइते भएका छन् । ती दुर्घटनामा परेर ६८ जना पुरुष, १५ जना महिला र चार जना बालबालिका गरी ८७ जनाले ज्यान गुमाएका छन् ।

जिल्लामा भएका दुर्घटनामध्ये धेरैजसो तीव्र गतिका कारण दुर्घटना भएको देखिन्छ । चालकको लापरबाही, सडक प्रयोगकर्ताको असावधानी, मादकपदार्थ सेवन साथै लाइसेन्स बिनाका चालकले चलाएका सवारी साधनहरु बढी दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काले बताए । यी घटनाहरूले भौतिक क्षति मात्र होइन, सामाजिक र आर्थिक रूपमा पनि गम्भीर असर पारेका छन् ।

वर्षायाम सुरु भएसँगै सप्तकोशी नदी र सहायक खोलाहरूमा पानीको सतह बढ्दा तटीय क्षेत्र डुबानमा परे । इटहरी, इनरुवा, बराहक्षेत्र, रामधुनी, भोक्राहलगायतका क्षेत्रमा घर डुबानमा पर्नुका साथै सयौँ बिघा खेतीयोग्य जमिनमा क्षति पुगेको थियो । गत असोज महिनाको लगातारको वर्षाले सुनसरीमा बाढी पहिरोको जोखिम बढायो । सुनसरीमा बाढीका कारण असोज १९ गते एकै दिनमा करिब एक हजार ३६ घर डुबानमा परेको थियो ।

लगातार वर्षाका कारण सानातिना खोलानाला बढेपछि जिल्लाका विभिन्न नगर तथा गाउँपालिका क्षेत्रका बस्तीहरूमा बाढी पस्यो । डुबान भयो र डुबानमा परेका अधिकांश घरहरूबाट मानिसहरू अस्थायी रूपमा सुरक्षित स्थानमा सारियो । बाढीका कारण घरहरु मात्र डुबानमा परेनन् केही विद्यालय र अस्पतालहरु समेत डुबानमा परेका थिए ।

अविरल वर्षा र बाढीका कारण सुनसरीमा मौसमी तथा बेमौसमी तरकारी खेतीमा ठूलो क्षति पुग्यो । असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षासँगै आएको बाढीका कारण किसानहरूले लगाएका बालीहरू डुबानमा पर्‍यो । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार २०८२ सालमा बाढी र अविरल वर्षाले जिल्लाभरका तरकारी बाली, धान खेतीमा ठुलो क्षति पुर्याएको छ । कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानको पाक्न लागेको धान तथा तरकारीबालीमा ठूलो क्षति पुर्‍यायो । रासस

Read more news from Kendrabindu

Explore by Source or Category