PalikaNews
सरकारलाई नाम्खा गाउँपालिकाको पत्र : हिउँ पन्छाएर बाटो खुलाउ वा चुनाव सार
हुम्ला, : आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन हिमाली जिल्ला हुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ । जाडो छल्न गाउँलेहरू बेँसी झरेका र गाउँसम्म पुग्ने बाटो हिमपातका कारण अवरुद्ध भएकाले मतदाता मतदान केन्द्रसम्म पुग्न नसक्ने चिन्ता बढेको हो ।
नाम्खा गाउँपालिकाले सरकारलाई पत्र लेख्दै हिउँ पन्छाएर सडक खुलाइदिन आग्रह गरेको छ । साथै जिल्ला निर्वाचन कार्यालयलाई छुट्टै पत्र पठाएर निर्वाचन केही समय पर सारिदिन अनुरोधसमेत गरेको छ ।
नाम्खा गाउँपालिका–६ लिमीमा ६७२ मतदाता रहेका छन् । त्यहाँ तीन वटा मतदानस्थल तोकिएका भए पनि अधिकांश मतदाता जाडो छल्न काठमाडौं, सुर्खेत, भारतलगायतका स्थानमा गएकाले मतदान प्रतिशत कम हुने सम्भावना रहेको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।
उनका अनुसार उत्तरी नाम्खा क्षेत्रका लिमी, तिल, जाङ र हल्जी गाउँका धेरै मतदाता जिल्ला बाहिर रहेका छन् । हिमपातका कारण न्यालु लेक क्षेत्रमा बाक्लो हिउँ जमेकाले सडक सम्पर्क पूर्ण रूपमा बन्द भएको छ ।
वडानम्बर ५ अन्तर्गत पर्ने नारा लेक क्षेत्रमा पनि ३ देखि ४ फिटसम्म हिउँ जमेकाले आउजाउ गर्न नसकिने स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।
सीमा सुरक्षा प्रहरी बल बिओपी हिल्साका इन्चार्ज कृष्ण दाहालका अनुसार हिमपातले ८ र ९ नम्बर पिलरसम्म अनुगमनमा जानसमेत कठिन भएको छ ।
स्थानीय तहले सरकारसँग तत्काल हिउँ पन्छाउने पहल गर्न वा निर्वाचनको मिति सार्न माग गरेका छन् । अन्यथा हिमाली क्षेत्रका धेरै मतदाता मतदानबाट वञ्चित हुने जोखिम रहेको जनप्रतिनिधिहरूको भनाइ छ ।