npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

दलहरुको घोषणापत्रमा पर्यटन र उड्डयन क्षेत्र, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे के छ?

Sairam Uparkoti 13 hours ago

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि प्रमुख राजनीतिक दलहरुले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै घोषणापत्र ल्याएका छन्। बिहिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपा एमालेले पर्यटक बढाउने, हवाई सेवा सुधार गर्ने, नियमक निकाय टुक्राउनेदेखि हिमाली पर्यटन प्रवर्धन गर्ने योजना अघि सारेका छन्।

रास्वपाले वाचापत्रमार्फत पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा संरचनागत सुधार गर्ने प्रतिबद्धता जनाएको छ। रास्वपाले नागरिक उड्डयन प्राधिकरणलाई नियामकीय र सेवा प्रदायक निकायमा विभाजन गर्ने, माउन्टेन स्कुल संचालन गर्ने, जहाज लिजमा लिएर राष्ट्रिय ध्वजावाहकको उडान विस्तार गर्ने, ट्रेकिङ इकोसिस्टम निर्माण गर्नेदेखि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्न भारतसँग रुट माग्नेसम्मको योजना अघि सारेको छ।

रास्वपाको वाचापत्रमा ५ वर्षभित्र पर्यटक आगमन र प्रतिव्यक्ति खर्च दोब्बर गरि औसत बसाइ लम्ब्याउने नीति ल्याउने उल्लेख गरेको छ। ट्रेकिङ केन्द्रित पर्यटनलाई विविधीकरण गर्ने प्रकृति, संस्कृति, समुदाय जोड्दै नयाँ ‘इकोसिस्टम’ स्थापनामा गर्ने योजना अघि सारेको छ।

‘अध्यागमन, ट्रेकिङ, राष्ट्रिय निकुञ्ज, पर्यटन विभाग,  सम्पदा स्थलका फरक-फरक अनुमति प्रणाली, टिकट र शुल्कलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गरि पर्यटकको समय, खर्च र झन्झट घटाउनेछौं,’ वाचापत्रमा भनिएको छ,‘पर्वतीय पर्यटनमा सुधार र सुरक्षालाई प्राथमिकता दिँदै हिमाललाई ६,००० मिटरदेखि ८,००० मिटरसम्म तीन श्रेणीमा विभाजित गरि ८,००० मिटर माथिको आरोही बन्न कम मिटरको हिमाल चढेको अनुभव लिएको हुनपर्नेछ,’

आधुनिक प्रविधि र सहज ड्रोन प्रयोगमार्फत सुरक्षा, खोज तथा उद्धार प्रणाली सुदृढ गर्नेसमेत वाचापत्रमा उल्लेख गरेको छ। नेपालको भौगोलिक लाभ उपयोग गर्दै भारत-नेपाल सीमाबाट १.५ घण्टाको दूरीमा रहेका पहाडी क्षेत्रमा ‘स्टेशन विकास नीति’ कार्यान्वयन गर्ने पनि भनिएको छ।

यस्तै, उपत्यकाको संस्कृति तथा वास्तुकला, देवघाटदेखि मुक्तिनाथसम्मको हिन्दु-बौद्ध धार्मिक क्षेत्र र जनकपुरलाई धार्मिक-सांस्कृतिक पर्यटन केन्द्रका रूपमा प्रवर्धन गर्न विशेष पूर्वाधार निर्माण गर्ने रास्वपाले जनाएको छ।

रास्वपाले उड्डयन क्षेत्रको नियमकीय निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ( क्यान )लाई नियामकीय र सेवा प्रवाह गर्ने निकाय छुट्याइ दुई टुक्रा बनाएर अन्तर्राष्ट्रिय विज्ञ टोलीमार्फत ‘हवाई सुरक्षा अडिट’ गराएर नेपाललाई कालोसुचीबाट हटाउन पहल गर्ने बताएको छ।

‘अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय बजारीकरण गर्न भारतसँग रुट तथा आइ.एल.एस. सञ्चालनबारे कुटनीतिक पहल गर्नेछौं। त्रिभुवन विमानस्थलको क्षमता बढाउन ९ वर्ष अघि तयार पारिएको नयाँ अन्तर्राष्ट्रिय टर्मिनलको डिजाइनलाई द्रुत गतिमा परिमार्जन गरी निर्माण प्रक्रियालाई अगाडि बढाउनेछौं,’ बाचापत्रमा उल्लेख छ, ‘नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको योजनालाई नेपालको दीर्घकालीन बजार र विश्वव्यापी उड्डयनमा परिवर्तनशील प्रवृत्तिहरूको विस्तृत अध्ययनका आधारमा निजगढ वा वैकल्पिक स्थानमा निर्माण गर्नेछौं।’

रास्वपाले विमानस्थललाई सडक एवं रेलमार्ग मार्फत प्रमुख शहरहरुसँग जोड्न सार्वजनिक र निजी वित्तीय स्रोतको व्यवस्थापन समेत गर्ने वाचा गरेको छ।

नेपाली कांग्रेसको यस्तो छ पर्यटन क्षेत्रको लागि प्रतिज्ञापत्र

नेपाली कांग्रेसले २०८२ को निर्वाचनको लागि ल्याएको ‘प्रतिज्ञापत्र’मा नेपाललाई विश्वकै उत्कृष्ट प्राकृतिक, आध्यात्मिक र सांस्कृतिक गन्तव्य बनाउने संकल्प व्यक्त गरिएको छ। 

कांग्रेसले शान्ति, ध्यान र आरोग्यको विश्व गन्तव्य बनाउन ‘आरोग्य नेपाल’ को नारासहित राष्ट्रिय गौरवको आयोजनाका रुपमा संचालन गर्ने वाचा गरेको छ। विदेशी पर्यटकका लागि ‘वेलनेस र डिजिटल नोम्याड भिसा’ सहित पर्यटकीय क्षेत्रहरुमा ‘वेलनेस जोन’ र योग प्रयोगशालाहरु निर्माण गर्ने उल्लेख छ।

‘नेपाली सभ्यता र संस्कृतिलाई रोजगारी र उद्यमशीलतासँग जोड्न जीवन्त सभ्यता र स्थानीय जोवनशैलीको अनुभव नारा सहितको काम गर्न सामुदायिक होमस्टे र सहरी घरवास कार्यक्रम ल्याउने छौं। स्थानीइ भेषभूषा, रैथाने खानपान र शिल्पकलालाई पर्यटन प्याकेजका रुपमा ब्रान्डिन गरिनुका साथै प्रमुख गन्तवयमा स्थानीय परम्परा झल्किने सांस्कृतिक भिलेज निर्माण गर्छौं,’ प्रतिज्ञापत्रमा भनिएको छ,‘सामुदायिक वन र सिमसार क्षेत्रलाई स्थानीय सहभागितामा पर्या-पर्यटन केन्द्र बनाउने व्यवस्था गर्छौं।’

नेपालमा रहेका धार्मिक र सांस्कृतिक धरोहरहरुलाई विश्व बजारलाई चिनाउन ‘आस्थाको यात्रा’ नारासहित धार्मिक गन्तव्यमा अन्तर्राष्ट्रिय अध्ययन केन्द्र स्थापना गरी सांस्कृतिक र आध्यात्मिक अनुसन्धान गराउने उल्लेख गरेको छ।

‘जनकपुर-लुम्बिनी काठमाडौं’ आध्यात्मिक र ‘बुद्ध-टु-शिव’ स्पिचुअल जस्ता डिजिटल करिडोर  बनाइ मुक्तिनाथ, जनकपुर र लुम्बिनीलाई हवाई सञ्जालमार्फत पर्यटकीय सर्किट बनाउ प्रतिज्ञापत्रमा उल्लेख छ।  यता प्रदेशमा विषयगत पर्यटकीय गन्तवयहरु मौलिक शैली अनिवार्य गर्ने कांग्रेसको लक्ष्य छ।

डिजिटल सम्पदा र पर्यटनको अवधारणा लागु गर्न झन्झटरहित डिजिटल पर्यटन प्लेटफर्म, एकीकृत एआई पोर्टलबाट अनुमित, सेवा अन स्टप, सम्पादाको जानकारी दिन एप, ५ जी कनेक्टिभिटी, डिजिटल अर्काइभ र कला संस्कृतिको ब्रान्डिङमा युवालक्षित विशेष कोष स्थापना गर्ने प्रतिज्ञापत्रमा भनिएको छ।

कांग्रेसले नेपाललाई हवाई सेवा मार्फत आकर्षक गन्तवय बनाउन विमानस्थल संचालन, ल्यानडिङ पार्किङ, हवाई इन्धको अतिरिक्त शुल्क घटाइ खर्चको हासबले आकर्षक गन्तव्यको रुपमा स्थापति गर्ने प्रतिज्ञा गरेको छ। कांग्रेसले पनि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन भारतसँग कूटनीतिक पहल गर्ने उल्लेख गरेको छ।

‘एयर ट्राफिक व्यवस्थापन चुस्त बनाएर आकाशमा हुने विमानको होल्डिङ समय न्यूनिकरण गर्छौं। नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी दुई स्वायत्त निकायमा विभाजन गरी हवाई सुरक्षा सुदृढ गर्छौं,’ प्रतिज्ञापत्रमा लेखिएको छ, ‘युरोपियन युनियनको हवाई सुरक्षा सम्बन्धी सेफ्टी लिस्टबाट हटाउन पहल गर्छौं। दुई अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउन कुटनितिक पहल गर्छौं।’

विमानस्थलहरु यात्रुमैत्री सुविधायुक्त बनाउन स्रोत व्यवस्थापन गरी आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटकसँगै पर्यटन क्षेत्रको हिस्सा १५ देखि २० प्रतिशत पुर्याउने लक्ष्य कांग्रेसले लिएको छ। यता नेपाल वायुसेवा निगमको ६ महिनाभित्र व्यवस्थापन सुदृढीकरण गरी ‘जनताको ध्वजाबाहक’मा रुपान्तरण गर्ने कांग्रेसको भनाई छ।

पर्यटनसँग शिक्षा र रोजगारी जोड्ने उद्देश्यले पाठ्यक्रममा योग, ध्यान र आरोग्य पर्यटन समावेश गर्ने कांग्रेसको योजना छ। १० हजार युवा तथा महिलालाई डिजिटल उद्यमशीलता तालिम दिने, महिला तथा युवा उद्यमीलाई कर छुट र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तथा सार्वजनिक–निजी–सामुदायिक साझेदारी मोडेल अपनाउने नीति कांग्रेसले अघि सारेको छ।

उच्च हिमाली क्षेत्रको संरक्षणका लागि ‘सफा हिमाल, सुरक्षित आरोहण’ अभियान संचालन गरिने भनिएको छ। पर्वतारोहण रोयल्टीको ३० प्रतिशत रकम हिमताल संरक्षण र जलवायु अनुकूलनमा खर्च गर्ने, आरोहीका लागि पूर्वानुमान सेवा उपलब्ध गराउने तथा पर्याटनमैत्री रिसोर्ट स्थापनामा सहुलियत दिने योजना छ। हिमालमा फोहोर फाल्नेलाई कडा जरिवाना र सरसफाइमा संलग्नलाई पुरस्कारको व्यवस्था गरिने उल्लेख छ।

नेपाली स्वादको अन्तर्राष्ट्रिय प्रवर्धनका लागि सातै प्रदेशका रैथाने परिकार समेटिएको गाइड तयार गरिने, अर्गानिक कृषि तथा स्थानीय पेय पदार्थलाई गुणस्तर प्रमाणीकरणसहित पर्यटन आपूर्ति शृङ्खलामा जोड्ने र होटलहरूमा रैथाने मेनु प्रवर्धन गर्ने नीति पनि सार्वजनिक गरिएको छ।

नेकपा एमालेको कस्तो छ पर्यटन क्षेत्रको लागि घोषण?

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन-२०८२ को लागि सार्वजनिक गरेको ‘एमालेले बनाउँछ!’ नामको घोषणापत्रमा पर्यटक आगमन पाँच वर्षमा दोब्बर बनाउने प्रतिबधता व्यक्त गरेको छ।

एमालेले ल्याएको घोषणापत्रमा नेपाललाई रहस्यमय हिमाली, आश्चर्यजनक प्रकृति, धार्मिक र सांस्कृतिक विशेषता, विशिष्ट संस्कृति र असाधारण साहसिक पर्यटनको अनुपम अनुभवको अवसर दिने विशिष्ट पर्यटन गन्तव्यको रूपमा विश्व पर्यटन बजारमा ब्राण्डिङ गर्ने बताएको छ।

‘पर्यटनको पूर्वाधार विकास, बजार प्रवर्द्धन, हवाई सेवा विस्तार, आन्तरिक सुरक्षा र नयाँ गन्तव्यको विकास गरेर पाँच वर्षमा पर्यटक आगमन दोब्बर गर्नेछौं,’ घोषणापत्रमा उल्लेख छ,‘पर्यटकको सुरक्षा पहिलो प्राथमिकता र ‘हृदयस्पर्शी, अविस्मरणीय नेपाली सत्कार’लाई मूल मन्त्र बनाएर पर्यटन सेवाको गुणस्तर वृद्धि गर्दै पर्यटकको बसाइ लम्ब्याउछौं।’

अन्तर्राष्ट्रिय उडानलाई सुविधाजनक बनाउन अन्तर्राष्ट्रिय उडान सेवा प्रदायकहरूसँग सहकार्यसँगै आन्तरिक हवाइ सेवालाई सहज, सुरक्षित र आरामदायी बनाउने प्रतिवद्धता समेत गरेको छ। भिसा तथा आन्तरिक उडान भाडा दरमा पुनरावलोकन गरी ‘गन्तव्य नेपाल’लाई थप आकर्षक बनाउनेसमेत घोषणा गरेको छ। लक्जरी रिसोर्ट, इकोलज, वेलनेस सेन्टरको निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने एमालेको घोषणा छ।

यस्तै, सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय ट्राभल ब्लगर, इन्फ्लुएन्सर, वृत्तचित्र र चलचित्रमार्फत नेपालका विविध पर्यटन गन्तव्य, क्षेत्र र अनुभवहरूको आक्रामक प्रचार-प्रसार गर्नुका साथै यस कार्यमा नेपाली डायस्पोराको समेत सक्रिय सहभागिता सुनिश्चित गर्ने एमालेले बताएको छ।

प्रमुख आन्तरिक विमानस्थलहरुलाई दैनिक १८ घण्टासम्म संचालन गर्ने र अन्तर्राष्ट्रिय विमानस्थललाई थप पूर्वाधारसहित आधुनिक सुविधासम्पनन बनाउने पनि भनिएको छ। नेपालमा दुईपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय खेलहरुको आयोजना गरी ‘खेल पर्यटन’ को प्रबर्द्धन गर्ने नीति एमालेको छ।

The post दलहरुको घोषणापत्रमा पर्यटन र उड्डयन क्षेत्र, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे के छ? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category