सर्वोच्चको फैसलापछि महामन्त्री गुरु घिमिरेको आह्वान : कसैको जितहार होइन, मिलेर जाऔँ
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलालाई न्यायपूर्ण भन्दै स्वागत गरेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने सर्वोच्चको निर्णयले पार्टीका सदस्यहरूले विधिको शासनका लागि गरेको लामो सङ्घर्षको सम्मान गरेको उनले बताएका छन् ।
फैसलापछि आफ्नो प्रतिक्रिया दिँदै महामन्त्री घिमिरेले भने, ‘सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी परेको रिट निवेदन उपर सुनुवाइ पश्चात् गरेको आदेश न्यायपूर्ण छ । यो नेपाली कांग्रेसका सदस्यहरूले आजसम्म देशमा विधि र पद्धतिका लागि अनवरत गरेको सङ्घर्षको प्रतिफल हो। यस निर्णयले सबैको आत्मसम्मान र योगदानको कदर गरेको छ ।’
उनले यो निर्णयलाई कसैको व्यक्तिगत जित वा हारको रूपमा लिन नहुनेमा जोड दिए । अब विगतका सबै विवादलाई बिर्सेर पार्टीको १५ औँ महाधिवेशनलाई सफल बनाउन एकताबद्ध हुनुपर्ने उनको भनाइ छ ।
‘यो कसैको हार वा जित होइन। अब हामी नेपाली कांग्रेसका सबै साथीहरू एकताबद्ध भई पार्टीको १५ औँ महाधिवेशनलाई उत्साह र एकताका साथ सम्पन्न गर्न केन्द्रित हुनुपर्छ,’ घिमिरेले भने, ‘विगतका सम्पूर्ण वादविवादलाई विस्मृतिमा राखेर नेपाली कांग्रेसको आन्तरिक एकतालाई सुदृढ पार्दै अघि बढ्नुपर्छ।’
क्जष्खबm ऋझभलत
शुक्रबार नै सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिको पक्षमा फैसला गरेको छ ।