npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का तोडेपछि पुनः मूल्याङ्कन, दुई महिनाभित्र नयाँ टेण्डर निकाल्न मन्त्री घिसिङको निर्देशन

पालिका ब्यूरो 14 hours ago

काठमाडौँ – राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत बाँध (हेडवक्र्स), विद्युत्गृहलगायतका सिभिल संरचना तथा गेटसहितका हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडानसम्बन्धी ठेक्का तोडेपछि आयोजनाले पुनः मूल्याङ्कन प्रक्रिया अघि बढाएको छ ।

आयोजनाले उक्त प्याकेज निर्माणका लागि पटेल–रमण जेभी, जनकपुर–९, धनुषासँगको ठेक्का सम्झौता तोड्ने उद्देश्यसहित गत २४ कात्तिकमा १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्थाबमोजिम ८ मंसिरदेखि औपचारिक रूपमा ठेक्का तोडिएको हो ।

ठेक्का रद्द भएपछि सम्झौताअनुसार निर्माण व्यवसायीका सम्पूर्ण उपकरण, साइट कार्यालय र निर्माणस्थल आयोजनाले आफ्नो नियन्त्रणमा लिएको छ । हालसम्म सम्पन्न काम, साइटमा रहेका उपकरण, बाँकी तथा थप गर्नुपर्ने कामको मूल्याङ्कन गरी नयाँ लागत अनुमान तयार गर्ने र त्यसकै आधारमा नयाँ टेण्डरका कागजात बनाउने कार्य भइरहेको आयोजनाले जनाएको छ ।

यसैक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सोमबार रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटस्थित आयोजनाको हेडवक्र्स निर्माण क्षेत्रको निरीक्षण गरे । निरीक्षणका क्रममा उनले टेण्डर रद्दपछिको साइट अवस्था र नयाँ टेण्डर निकाल्ने प्रक्रियाको प्रगति बारे जानकारी लिएका हुन् र

मन्त्री घिसिङले आयोजनास्थलमै आयोजना व्यवस्थापन र परामर्शदातासँग छलफल गर्दै हाल भइरहेको मूल्याङ्कनको काम दुई महिनाभित्र सम्पन्न गरी नयाँ टेण्डर प्रक्रिया अघि बढाउन निर्देशन दिए ।

उनले भने,“हालसम्म भएको काम, बाँकी काम र निर्माणका क्रममा देखिएका थप कामलाईसमेत समेटेर मूल्याङ्कन गरी सोहीअनुसार नयाँ टेण्डर गर्नुपर्छ । सुरुङ बनिसकेको आयोजनाको निर्माणमा ढिलाइ गर्नु हुँदैन । नयाँ तालिकाबमोजिम निर्माण सम्पन्न हुने सुनिश्चित गरेर टेण्डर प्रक्रिया तत्काल अघि बढाउनुपर्छ ।”

ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिँदासमेत भौतिक प्रगति करिब १० प्रतिशत मात्रै रहेको, प्रगति बढाउन कुनै तदारुकता नदेखाएको र सुधारका लागि पटक–पटक सूचना दिँदासमेत बेवास्ता गरेकाले पटेल–रमण जेभीसँगको ठेक्का तोडिएको आयोजनाले जनाएको छ ।

ठेक्का रद्दसँगै आयोजनाले कार्यसम्पादन जमानतबापतको २ अर्ब ४० करोड रुपैयाँ र अग्रिम भुक्तानी जमानतबापतको १ अर्ब २० करोड रुपैयाँ गरी कुल ३ अर्ब ६० करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया पनि अघि बढाएको छ ।

आयोजना निर्माणका लागि पटेल–रमण जेभीसँग करसहित १४ अर्ब ८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरी माघ २०७९ बाट काम सुरु गरेको थियो । सम्झौताअनुसार असार २०८४ भित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म करिब १० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । अहिलेसम्म करिब २ अर्ब १४ करोड रुपैयाँ (करिब १५ प्रतिशत) भुक्तानी भइसकेको आयोजनाले जनाएको छ ।

आयोजनाको १३.३ किलोमिटर सुरुङ टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी खनिएको थियो । सो सुरुङ २६ वैशाख २०८१ मा छिचोलिएको हो । सिन्धुली र रामेछापको सीमानामा रहेको सुनकोशी नदीको पानी बाँध बनाएर सुरुङमार्फत मरिण नदीमा खसाली बागमती सिँचाइ आयोजनामा पु¥याइने छ ।

यस आयोजनाबाट हाल सिँचाइ भइरहेको ४५ हजार ६ सय हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ । साथै सुनकोशीको पानी मरिण नदीमा पथान्तरण गरी ३१ मेगावाट विद्युत उत्पादन गर्ने योजना छ । आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।

 

Read more news from PalikaNews

Explore by Source or Category