सीएफ मोटोको नयाँ ‘डुअल-स्पोर्ट’ बाइक छिटै बजारमा, नेपाली सडकमा हुँदैछ टेस्ट ट्राइभ
काठमाडौं। सीएफ मोटोको नयाँ डुअल–स्पोर्ट मोटरसाइकल नेपाली भूभागमा परीक्षणका क्रममा छ। एड्भेन्चर र डुअल–स्पोर्ट सेगमेन्टका बाइकमा नेपाली प्रयोगकर्ताको रुचिलाई ध्यानमा राख्दै यो नयाँ मोडल बजारमा ल्याउने तयारी भइरहेको हो।
नयाँ मोडल छिट्टै लन्च गरिने सीएफ मोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले जनाएको छ। बिक्रेता कम्पनीले २५० डुअलको परीक्षण सुरु गरेको हो। नयाँ मोडलले मोटरसाइकल प्रेमीलाई शहरी यात्रादेखि अफ–रोडसम्म बहुउपयोगी विकल्प प्रदान गर्ने विश्वास लिइएको जनाइएको छ।
नयाँ मोटरसाइकललाई सीएफ मोटोले मजबुत अफ–रोड क्षमता र स्लीक अर्बन–रेडी डिजाइनका साथ अत्यन्त आकर्षक लुक्समा तयार पारेको छ। नेपालका जटिल भूगोलको सडक परिस्थिति र चुनौतीपूर्ण भू-परिवेशलाई ध्यानमा राखेर विशेष रूपमा उपयुक्त मोटरसाइकल ल्याउन चाहेको कम्पनीले संकेत दिएको छ।
डिजाइनलाई आकर्षक र एग्रेसिभ लुक्स दिन सो नयाँ बाइकमा शार्प एंगुलर फ्रन्ट फेसियाका साथ बिशेष डुअल–स्पोर्ट हेडलाइट जडान गरिएको छ। अफरोडमा यात्रा गर्दा धुलो तथा ग्राभेलबाट सुरक्षा दिन उठाइएको फ्रन्ट फेन्डर र लामो फोर्क गार्ड उपलब्ध गराइएको छ। बाइकमा लामो ट्राभल सस्पेन्सन, स्लिम तथा स्ट्रिमलाइन बडी प्यानल, हाई–माउन्टेड एक्जस्ट, डुअल–पर्पस टायर र उभिएर चलाउँदा समेत राम्रो नियन्त्रण दिन सक्षम, स्कल्प्टेड ट्यांकसँग जोडिएको सानो स्लिम सीट प्रोफाइल दिइएको छ।
इन्डुरो मेसिनबाट प्रेरित क्लासिक डिजाइन फिलोसफीमा आधारित २५० डुअलको उत्पादन आधुनिक तवरबाट गरिएको छ भने प्रिमियम फिनिशिङले यसलाई थप परिष्कृत बनाएको छ। टिकाउपन र ह्यान्डलिङलाई विभिन्न परिस्थितिमा (सहरको भीडभाडदेखि बिग्रिएको सडक र अफ–रोड ट्रेलसम्म) मूल्यांकन गरिरहेको अवस्थालाई मध्येनजर गर्दा सीएफ मोटो नेपाली सडक सुहाउँदो मोटरसाइकल लन्च गर्न गम्भीर रहेको पुष्टि गरेको कम्पनीको विज्ञप्तिमा छ।
एर्गोनोमिक डिजाइन, फराकिलो ह्यान्डलबार र अप–राइट राइडिङ पोजिसनले सिएफमोटो २५० डुअललाई लामो यात्रादेखि विकेन्ड एड्भेन्चरसम्मका लागि उपयुक्त बनाउने अपेक्षा गरिएको छ।
The post सीएफ मोटोको नयाँ ‘डुअल-स्पोर्ट’ बाइक छिटै बजारमा, नेपाली सडकमा हुँदैछ टेस्ट ट्राइभ appeared first on BIZMANDU.