यूएईको भिसामा सरकारको ध्यानाकर्षण, निकाल्यो यस्तो विज्ञप्ति
काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्सको भिसामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अध्यागमन विभागले आज एक विज्ञप्ति निकाल्दै यस्तो ध्यानाषर्कण भएको जनाएको छ। ‘यूएई प्रस्थान गर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘इम्प्लोइमेन्ट इज स्ट्रिक्ली प्रोहेबिटेन्ड। भिटिज टिल १०÷६÷२०२६’ लेखेको भनी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार एवं टिप्पणीप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ’, विभागले भनेको छ।
आजको दिनमा धेरै नेपालीको विदेश यात्रा रहर र राम्रो अवसरको खोजी मात्र नभई बाध्यता समेत भएको यथार्थ सबैलाई अवगत नै रहेको विज्ञप्तिमा उल्लेख छ। ‘नागरिकको यही बाध्यतालाई भजाएर विभिन्न तहमा हुने गरेका ठगी र शोषण नियन्त्रण गर्न अध्यागमन प्रशासनले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अनावश्यक कागजात माग गर्ने र तजविजीको आधारमा निर्णय गरी हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न नेपाल सरकारको मिति २०८२ कार्तिक १३ को निर्णयानुसार भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकहरूको सन्दर्भमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाईटिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणा सहित विदेश जान पाउने गरी प्रस्थानलाई सरलीकृत र व्यवस्थित बनाइएको छ।’
विभागले यात्रुको आगमन र प्रस्थानलाई झन्झटरहित बनाउन नीतिगत सहजीकरण र अध्यागमन प्रणालीलाई थप आधुनिकीकरण गरी राष्ट्रिय सुरक्षाको सुदृढीकरणका क्षेत्रमा समेत काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ। ‘कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानूनी अभ्यास गर्ने कर्मचारीलाई कारवाहीको लागि आन्तरिक छानवीनको प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ।