Taksar News
बञ्चरेडाँडा ल्यान्डफिलमा अनधिकृत प्रवेश निषेध, उल्लङ्घन गर्नेलाई कारबाही हुने
काठमाडौँ। काठमाडौँ महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभागले बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गरेको छ।
विभागले सूचना जारी गर्दै आजदेखि ल्यान्डफिल साइट परिसरमा अनुमति बिना प्रवेश गर्न नपाइने स्पष्ट गरेको हो।
विभागका अनुसार उक्त ल्यान्डफिल साइटमा दैनिक रूपमा २३ वटा स्थानीय तहबाट संकलित फोहरमैला अन्तिम व्यवस्थापनका लागि ल्याइँदै आएको छ।
फोहर विसर्जनको क्रममा डोजर, एक्साभेटर, लोडर, जेट, ट्रिपर लगायतका हेभी सवारीसाधन निरन्तर सञ्चालनमा रहने भएकाले अनधिकृत व्यक्तिको उपस्थितिले सवारी दुर्घटनाको जोखिम बढाएको जनाइएको छ।
त्यसैगरी, फोहरमैला तथा कवाडी संकलन गर्ने अनधिकृत व्यक्तिहरूको प्रवेशका कारण स्वास्थ्य तथा मानवीय जोखिमसमेत बढ्दै गएको विभागले उल्लेख गरेको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै ल्यान्डफिल साइटको सुरक्षालाई कडाइ गरिएको जनाइएको छ।
विभागले अनुमति प्राप्त कर्मचारी, सुरक्षाकर्मी तथा आधिकारिक रूपमा खटिएका व्यक्तिबाहेक अन्य कसैलाई पनि साइट परिसरमा प्रवेश नगर्न तथा नगराउन आग्रह गरेको छ।
सूचनाको उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने र अनधिकृत प्रवेशका कारण कुनै दुर्घटना भएमा कार्यालय जिम्मेवार नहुने स्पष्ट पारिएको छ।