पीएम कपमा राष्ट्रिय टोलीका ‘ठूला’ खेलाडी नै छायामा, ढोका ढक्ढकाउने खेलाडी को हुन्?
काठमाडौं । नेपाली क्रिकेट टोलीले पछिल्ला वर्षहरुमा एकदिवसीय क्रिकेट खेल्दा होस् या टी-२० टोलीमा धेरै परिवर्तन देखिएको छैन। भारतमा टी-२० विश्वकप खेलेर फर्किएको नेपाललाई अब एकदिवसीय फर्म्याटमा स्वीच हुनुपर्ने आवश्यकता छ।
टी-२० फर्म्याटमा लगातार विश्वकप खेलेर ‘गौरवगाथा’ गाइरहेको नेपाली टोलीको स्थिति एकदिवसीय फर्म्याटमा ठीक उल्टो छ। ८ टोली सहभागी क्रिकेट विश्वकप लिग-२ मा सातौँ स्थानमा रहँदै नेपाल अफ्ठेरो स्थितिमा छ। यसलाई दुईवटा समस्या उत्पन्न हुनेवाला छन्। पहिलो: नेपालको एकदिवसीय मान्यता निकै जोखिममा परेको छ भने एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायर पुग्ने सम्भावना अझ कमजोर बन्दै गएको छ। यी मध्ये पहिलो समस्या धेरै चिन्ताजनक छ।
एकदिवसीय फर्म्याटमा यो स्थिति आउनुको कारण के? जवाफ- नेपालकै प्रदर्शन। लिग-२ मा २० खेल खेल्दा मात्रै ५ वटामा नेपालले जितेको छ। आधाभन्दा बढी लिग-२ का खेल खेलिसक्दा नेपाल दयनीय स्थितिमा छ। नेपाल भन्दा पछाडि तालिकामा यूएईमात्र छ। यूएईले पनि अब एक खेल जिते नेपाललाई भेट्नेछ। जबकी नेपाल भन्दा एक स्थानमाथि रहेको क्यानडालाई यथास्थितिमा भेट्न नेपालले कम्तीमा पाँच खेल जित्नुपर्नेछ।

पीएम कपबाट राष्ट्रिय टोली ताक्दै खेलाडी
युवा खेलाडीदेखि पुनरागमन चाहने खेलाडीलाई राष्ट्रियमा पुग्ने बाटो के? घरेलु लिग। मल्टिडेमा झारा टार्ने हिसाबले जय ट्रफी क्यानले गरिरहेको छ। यसपालासम्म मात्रै चार टोलीले यो ट्रफी खेल्दै आएका छन्। यसले सबै खेलाडीलाई अवसर दिँदैन। त्यस्तै, वर्षमा एक महिना चल्ने नेपाल प्रिमियर लिगलाई टी-२० फर्म्याटका लागि उपयोगी मान्न सकिए पनि ५० ओभर नै हतपत्त नटिक्ने तथ्यांकमा उभिएको नेपालका लागि आदर्श मान्न सकिँदैन।
यस्तोमा प्रधानमन्त्री कप लिग-२ मा खेलाडी छनोटको मुख्य आधार बन्न सक्छ।
प्रधानमन्त्री कपमा फाइनल खेलमात्र बाँकी रहँदा राष्ट्रिय टोलीमा पुनरागमन चाहने खेलाडी र डेब्यु चाहने खेलाडीले राष्ट्रिय टोलीका नियमित खेलाडीलाई नै छायाँमा पार्ने काम गरिरहेका छन्।
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष पाँच खेलाडीमा मुस्किलले १ जना मात्र राष्ट्रिय टोलीका नियमित खेलाडी छन्। अझ, ओडीआईमै देब्रेहाते ब्याटरदेखि कन्सिस्टेन्सी देखाइरहेका खेलाडीको बलियो प्रदर्शन छ।

यो तथ्यांकले लिग-२ का दुई वटा सिरिज यही महिना काठमाडौंमै हुने सिरिजका लागि खेलाडी छनोटमा ठूलै प्रतिस्पर्धा हुने देखिन्छ।
तर, केही खेलाडीहरु यी सबै प्रतियोगितामा राम्रो प्रदर्शन गरे पनि राष्ट्रिय टोलीमा छनोट भइनेमा आशावादी छैन। अर्थात खेलाडी छनोट ‘फेयर’ नहुने बहस पनि बेलाबेला नेपाली क्रिकेटमा आउने गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)का बेला भण्डारीले एनपीएल लगायत नेपालका घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेर पनि राष्ट्रिय टोलीमा पर्ने ग्यारेन्टी नभएको दाबी गरेका थिए।
‘५० ओभरको खेलमा पनि एनपीएलमा जस्तै राम्रो प्रदर्शन भइरहेको छ,’ उनले प्रश्न गरेका थिए, ‘सेलेक्सन म्याच हो भने राम्रो प्रदर्शन गरेको खेलाडी किन टिममा पर्दैन? पीएम कपमा पनि टप फाइभ पर्फमेन्स गरेका टप फाइभ खेलाडीहरु राष्ट्रिय टोलीको स्क्वाडमै छैनन्। यहाँ प्रदर्शन राम्रो गरेर टिममा परिन्छ भन्ने के आधार छ?’
राष्ट्रिय टोलीबाट खेलिसकेका हरिशंकर शाह पनि प्रदर्शन र फिटनेस छनोटको मापदण्ड हुनुपर्ने मान्छन्।
‘उमेरले अर्थ राख्छ? यसलाई स्पस्ट पार्नुपर्छ। फिटनेस र प्रदर्शनलाई छनोटको मापदण्ड बनाउनु पर्छ,’ भण्डारीको तस्बिर राख्दै पीएम कपका दौरान शाहले भनेका छन्।
जसले राष्ट्रिय टोलीका नियमित खेलाडी छायामा पारेका छन्
पीएम कपमा सात प्रदेश र तीन विभाग गरी १० टोलीको प्रतिस्पर्धा रहन्छ। लिग चरणमा सबैले एकअर्कासँग गरी कूल ९ खेल खेलिसकेका छन्। राष्ट्रिय टोलीमा नियमित खेलिरहेका दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीबाहेक अधिकांश सिनियर खेलाडीसँगै डेब्यु र पुनरागमनको पर्खाइमा रहेका लगभग सबै खेलाडीले यो प्रतियोगिता खेलेका छन्।
पीएम कपको तथ्यांकलाई हेर्दा ब्याटिङ र बलिङ दुवैमा राष्ट्रिय टोलीका नियमित खेलाडी छायाँमा परेका छन्। पीएम कपमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको शीर्ष पाँचमा आशिफ शेखमात्र राष्ट्रिय टोलीका नियमित खेलाडी हुन्। भलै, उनी सर्वाधिक रन बनाउने खेलाडी भने होइनन्।

गण्डकी प्रदेशबाट खेलेका अर्जुन कुमालले ९ खेलबाट ५०४ रन बनाएका छन्। उनले राष्ट्रिय टोलीमा डेब्यु गरेका छैनन्। दोस्रो धेरै रन बनाएका आशिफले ४५७ रन बनाउँदा तेस्रोमा विनोद भण्डारी छन्। पछिल्ला वर्षहरुमा सबै फर्म्याटमा कन्सिस्टेन्सी कायम राखेका भण्डारी राष्ट्रिय टोलीमा पुनरागमनको पर्खाइमा रहेका खेलाडी हुन्।
त्यस्तै, चौथो स्थानमा ३३३ रन बनाएर दिनेश खरेल र चौथो स्थानमा नारायण जोशी ३०३ रन बनाएर छन्। यी दुवै राष्ट्रिय टोलीमा डेब्यु गर्न बाँकी खेलाडी हुन्। यो सूचीमा राष्ट्रिय टोलीका नियमितजसो देखिँदै आएका सन्दीप जोरा छैटौ, आरिफ शेख आठौँ, भीम सार्की १२ औँ स्थानमा रहँदा एपीएफको कप्तानी सम्हालेका रोहितकुमार पौडेल ९ खेलबाट १३५ रन बनाउँदै सूचिको ४१ औँ स्थानमा छन्।

बलिङतर्फ पनि स्थिति फरक छैन। सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष पाँचमा सन्दीप लामिछानेमात्र नियमित राष्ट्रिय टोलीमा खेलिरहेका खेलाडी हुन्। उनले र हेमन्त धामीले समान २५ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा छन्।
त्यस्तै, एनपीएलमा प्रभावशाली प्रदर्शन गरेर टी-२० विश्वकप खेलेका शेर मल्लले २२ विकेट लिँदा चौथो धेरै विकेट लिने सन्तोष यादवले २१ र पाँचौँ स्थानमा रहेका अभिषेष गौतमले १९ विकेट लिएका छन्।
राष्ट्रिय टोलीमा नियमित बलिङ गर्दै आएका अन्य खेलाडीमा ललित राजवंशीले १७ विकेट लिँदा चार खेलबाट गुल्सनले १ विकेट लिँदा करण केसीले ७ खेलबाट ८ विकेट लिएका छन्।
यसरी हेर्दा ब्याटिङमा अर्जुन कुमाल, विनोद भण्डारी, दिनेश खरेलजस्ता ब्याटरले आफ्नो क्षमता देखाउँदा बलिङमा हेमन्त धामी, सन्तोष यादव, अभिषेश गौतम जस्ता खेलाडीले सम्भावना देखाएका छन्।
The post पीएम कपमा राष्ट्रिय टोलीका ‘ठूला’ खेलाडी नै छायामा, ढोका ढक्ढकाउने खेलाडी को हुन्? appeared first on BIZMANDU.