npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

एमालेमा शक्ति खेलको उत्कर्ष, स्थायी कमिटीमा ३३ पदका लागि ५० भन्दा बढी आकाँक्षी

इन्द्र कमल रोक्का 5 hours ago

काठमाडौँ। नेकपा एमालेको ११ औं महाधिवेशनपछि पार्टीको नेतृत्व संरचनामा नयाँ तरङ्ग देखिएको छ। अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बहुमत सुरक्षित भएपछि स्थायी कमिटी र पोलिटब्युरोको निर्वाचनमा पार्टीभित्रै चासो तिव्र छ ।

स्थायी कमिटीलाई सचिवालयपछि ‘कोर अफ लिडरसिप’ मानिन्छ । ११ औं महाधिवेशनले यसको निरन्तरता सुनिश्चित गरेपछि अब निर्वाचन प्रक्रिया सुरु हुँदैछ । आगामी पुस २६–२८ गतेसम्म केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी, पोलिटब्युरो निर्वाचन र केही सदस्यको मनोनयन गर्ने तयारी गरेको छ ।

एमालेको ३३ सदस्यीय स्थायी कमिटीका लागि ५० भन्दा बढी आकांक्षी उभिएका छन्। पार्टी विधान अनुसार स्थायी कमिटी, पोलिटब्युरो सदस्य हुन कम्तिमा एक कार्यकाल केन्द्रीय कमिटीमा काम गरेको हुनुपर्नेछ। ११ औं महाधिवेशनमा निर्वाचित अधिकांश सदस्य दोहोरिएर आएका छन्।

अहिले १९ पदाधिकारी स्वतः स्थायी कमिटी सदस्य हुनेछन्। यसमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, रघुजी पन्त, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, लेखराज भट्ट, रघुवीर महासेठ तथा सचिव पदाधिकारीहरू पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, भानुभक्त ढकाल, महेश बस्नेत रहेका छन्।

स्थायी कमिटीका बाँकी १४ सदस्यका लागि प्रतिस्पर्धा सुरु भएको छ। फरक समूहका आकांक्षीमा ईश्वर पोखरेल, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, विन्दा पाण्डे, आनन्द पोखरेल, ठाकुर गैरे, अग्नि खरेल, राजेन्द्र गौतम, लालबाबु पण्डित, प्रदीप ज्ञवाली, किरण गुरूङ, गोरख बोगटी, थममाया थापा, तिलकुमार मेन्याङ्बो, विशाल भट्टराई, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल, शेरबहादुर तामाङ, जगत विश्वकर्मा, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, सूर्य थापा, ज्वालाकुमारी साह, खेममान खड्का, टुकराज सिग्देल, सुजिता शाक्य, रामेश्वर फुयाल रहेका छन्।

एक नेताले केन्द्रविन्दुलाई बताए अनुसार अध्यक्ष ओलीले फरक समूहको आकांक्षीलाई स्थायी कमिटीमा समावेश गर्ने कि नगर्ने भन्ने निर्णय अर्को बैठकमा गर्ने तयारीमा छन्। सचिवालयले निर्वाचन र मनोनयनको प्रस्ताव तयार गरिसकेको छ ।

संशोधित विधानअनुसार ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था रहेको छ ।

Read more news from Kendrabindu

Explore by Source or Category