आर्थिक गणना गर्न १३३ गणक
चितवन। आर्थिक गणनाका लागि जिल्लामा १३३ गणक खटिएका छन्। आजदेखि स्थलगत तथ्यांक संकलनका लागि गणकहरु खटिएका हुन्।
उनीहरुले आगामी असार ७ गतेसम्म स्थलगत गणना गर्नेछन्। आर्थिक गणना कार्यालयका अनुसार खटिएका गणकहरु सातै स्थानीय तहमा परिचालन हुनेछन्। कार्यालयकी आर्थिक गणना अधिकारी रेणुकुमारी घिमिरेका अनुसार भरतपुर महानगरपालिकामा ७५ जना, राप्ती र कालिका नगरपालिकामा आठ/आठ जना, रत्ननगर नगरपालिकामा १९ जना, खैरहनी नगरपालिकामा १४ जना खटिएका छन्।
माडी नगरपालिकामा पाँच जना र इच्छाकामना गाउँपालिकामा चार जना गणक खटिएको उनले जानकारी दिए।
उनीहरुसँगै १७ जना सुपरीवेक्षकसमेत खटिएका छन्। १८ वटा उद्योग समूहका आर्थिक इकाइहरुलाई समेटेर १३ वटा खण्डमा प्रश्नावली लिएर गणकहरु घरघर जाने उनले बताए।
आर्थिक गणना २०७५ अनुसार चितवनमा २९ हजार २३७ उद्योग रहेका छन्। जसमा १७ हजार ४५ उद्योग दर्ता भएको र १२ हजार १८४ उद्योग दर्ता भएका छैनन्। उनका अनुसार जिल्लाका ६२ दशमलव ६२ प्रतिशत उद्योग पुरुषको स्वामित्वमा रहेका छन्।
३७ दशमलव ३८ प्रतिशत उद्योग महिला व्यवस्थापक भएर काम गरेको उनले जानकारी दिए। अहिले सुरु गर्न लागिएको गणनाले कृषि क्षेत्रमा केही क्षेत्रबाहेक अन्य क्षेत्रको गणना गरिनेछ। आर्थिक गणनाले देशको अर्थतन्त्र व्यवस्थापन गर्न सहज बनाउने उनले बताए।