पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण, रास्वपा भन्छ- घुसपैठ भयो
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अंकीत झन्डा जलाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले आज (शुक्रबार) विज्ञप्ति जारी गरी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी तथा महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भएको उल्लेख गरेका छन्। उक्त घटनामा संलग्नलाई कानुनी कारबाही गर्न एमालेले माग गरेको छ ।
रास्वपा दाङका सभापति विनय घिमिरेले भने बिहीबार राति नै विज्ञप्ति निकाल्दै यसमा पार्टीको कुनै पनि संलग्नता नरहेको बताएका छन्। ‘केन्द्रीय सभापतिज्यू सुर्खेतको कार्यक्रम समापन गरी दाङ आउने क्रममा सडकपेटीमा स्वत:स्फूर्त स्वागतमा जुटेका शुभेच्छुकहरूको उत्साहजनक उपस्थितिलाई देखी अत्तालिएका केही घुसपैठ र अवाञ्छित तत्वहरूले यो भ्रमपूर्ण वातावरण सिर्जना गरेको हाम्रो स्पष्ट ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।
त्यस्तै उनले घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी तत्काल कानुनी कठघरामा उभ्याउन पनि सुरक्षा निकायसँग माग गरेका छन्।