KHASOKHAS
ट्रम्प र ओबामा फेरि आमनेसामने: एलियनसँग सम्बन्धित सरकारी कागजात सार्वजनिक गर्न निर्देशन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाह्य अन्तरिक्षको जीवन तथा एलियनसँग सम्बन्धित सरकारी कागजात सार्वजनिक गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्। उनले रक्षा मन्त्रालयसहित विभिन्न सरकारी निकायलाई यस्ता फाइलहरू पहिचान गरी सार्वजनिक गर्ने तयारी गर्न भनेका हुन्।
ट्रम्पले यो घोषणा आफ्नै सामाजिक सञ्जालमार्फत गरेका हुन्। यसअघि उनले पूर्व राष्ट्रपति बराक ओबामामाथि गोप्य सूचना सार्वजनिक गरेको आरोप लगाएका थिए। ओबामाले गत साता एक अन्तर्वार्ताका क्रममा “एलियन वास्तविक छन्” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई ट्रम्पले ठूलो गल्ती भएको बताएका छन्।
ट्रम्पले भने, “ओबामाले त्यस्तो कुरा गर्नु हुँदैनथ्यो। त्यो ठूलो गल्ती हो।” आफू एलियनको अस्तित्वबारे के सोच्नुहुन्छ भन्ने प्रश्नमा ट्रम्पले भने, “मलाई थाहा छैन, उनीहरू वास्तविक छन् कि छैनन्।”
पूर्व राष्ट्रपति ओबामाले ब्रायन टायलर कोहेनसँग कुरा गर्दै एलियनबारे प्रतिक्रिया दिएका थिए। उनले भनेका थिए, “उनीहरू वास्तविक छन्, तर मैले देखेको छैन, र उनीहरू कुनै गोप्य स्थलमा लुकाइएका छैनन्।” पछि सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै ओबामाले आफ्नो कार्यकाल (सन् २००९ देखि २०१७) मा बाह्य जीवनसँग सम्पर्क भएको कुनै प्रमाण नदेखिएको बताएका छन्। उनले लेखेका छन्, “मेरो कार्यकालमा पृथ्वीबाहिरका जीवसँग सम्पर्क भएको कुनै प्रमाण भेटिएन।”
यस विषयमा उनले कुनै गोप्य जानकारी सार्वजनिक गरेको संकेत भने देखिएको छैन। ट्रम्प र ओबामा लामो समयदेखि राजनीतिक प्रतिस्पर्धीका रूपमा चिनिँदै आएका छन्। केही घण्टापछि ट्रम्पले पुनः सन्देश प्रकाशित गर्दै जनचासोको आधारमा बाह्य अन्तरिक्ष जीवन, अपरिचित उड्ने वस्तु तथा अपरिचित आकाशीय घटना सँग सम्बन्धित सम्पूर्ण कागजात सार्वजनिक गर्ने पहल गर्ने बताएका छन्।
यसैबीच, अमेरिकी रक्षा मन्त्रालयले सन् २०२४ मा सार्वजनिक गरेको प्रतिवेदनमा सरकारले बाह्य जीवन भेटेको कुनै प्रमाण नभएको उल्लेख गरिएको छ।
अधिकांश अपरिचित उड्ने वस्तुका घटना सामान्य वस्तु नै भएको निष्कर्ष पनि प्रतिवेदनमा समेटिएको छ। यसअघि सन् २०२३ मा अमेरिकी प्रतिनिधि सभाले अपरिचित आकाशीय घटनाबारे छलफल गरेको थियो, तर उक्त छलफलबाट बाह्य जीवनबारे कुनै ठोस पुष्टि हुन सकेको थिएन।