निर्वाचनले बढायो आयात, माघमा भित्रियो १ खर्ब ८४ अर्बको वस्तु, पौने २ खर्बको निर्यात
काठमाडौं। निर्वाचनका कारण आयात व्यापार चालु आर्थिक वर्ष माघमा ७ महिनायताकै उच्च भएको छ। भन्सार विभागका अनुसार माघमा १ खर्ब ८४ अर्बको वस्तु आयात भएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा आयात पोहोर सोही अवधिको तुलनामा १३.६५ प्रतिशतले वृद्धि भएको छ। पोहोर ७ महिनामा ९ खर्ब ८८ अर्बको वस्तु आयात भएकामा अहिले बढेर ११ खर्ब २३ अर्ब बराबर पुगेको छ।
साउनमा १ खर्ब ४३ अर्ब, भदौमा १ खर्ब ६२ अर्ब ११ करोड, असोजमा १ खर्ब ६२ अर्ब ९२ करोड, कात्तिकमा १ खर्ब ४१ अर्ब, मंसिरमा १ खर्ब ५७ अर्ब र पुसमा १ खर्ब ७३ अर्ब रुपैयाँको वस्तु भित्रिएको तथ्यांक छ।
आयातसँगै निर्यात पनि ३२.१९ प्रतिशतले वृद्धि भएको छ। माघ मसान्तसम्म निर्यात १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। पोहोर ७ महिनामा १ खर्ब २७ अर्बको वस्तु निर्यात भएको थियो।
आयात निर्यात अनुपात ७.७७ प्रतिशतबाट घटेर ६.६८ प्रतिशतमा आएको छ। आयात तुलनामा निर्यात न्यून हुँदा व्यापार घाटा सात महिनामा १०.९१ प्रतिशतले बढेर ९ खर्ब ५५ अर्ब पुगेको छ। पोहोर ७ महिनामा व्यापार घाटा ८ खर्ब ६१ अर्ब थियो।
The post निर्वाचनले बढायो आयात, माघमा भित्रियो १ खर्ब ८४ अर्बको वस्तु, पौने २ खर्बको निर्यात appeared first on BIZMANDU.