Pokhara News
पोखरामा लागुऔषधसहित तीन महिला पक्राउ
पोखरा । पोखरा महानगरपालिका–५ प्रस्याङबाट लागू औषधसहित तीन महिला पक्राउ परेका छन्।
लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–४ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१८ बस्दै आएकी ३१ वर्षीया नर कुमारी घर्ती, १८ वर्षीया अस्मिता घर्ती मगर र ४१ वर्षीया कुन्त माया पाइजा रहेका छन्।
प्रहरीका अनुसार खानतलासी गर्दा उनीहरूको साथबाट डाईजेपाम २२४ एम्पुल, फेनारगन २२४ एम्पुल र ब्रुफिन २२४ एम्पुल गरी जम्मा ६७२ एम्पुल लागुऔषध बरामद भएको छ। साथै नगद रु. ८ हजार५०० र तीन थान मोबाइलसमेत फेला परेको प्रहरीले जनाएको छ।
उनीहरूलाई पक्राउ गरी लागुऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
The post पोखरामा लागुऔषधसहित तीन महिला पक्राउ appeared first on Pokhara News.