npl.977 Nepal News Stream

KHASOKHAS logo KHASOKHAS

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी प्रवक्ता म्याकलफ्लिनद्वारा प्रशासन छाड्ने घोषणा 

सुरज घिमिरे 1 day ago

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)की प्रवक्ता ट्रिसिया म्याकलफ्लिनले प्रशासन छाड्ने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिप्रति सार्वजनिक समर्थन घट्दै गएको अवस्थामा डिएचएस प्रवक्ता म्याकलफ्लिनको यो निर्णय आएको हो ।

म्याकलफलिन ट्रम्प प्रशासनको आक्रामक आप्रवासन कार्यान्वयन रणनीतिकी सक्रिय समर्थकका रूपमा चिनिन्थिन्। उनी डीएचएसको प्रेस सञ्चालनको नेतृत्व गरिरहेकी थिइन्। पछिल्ला समय संघीय आप्रवासन अधिकारीहरू संलग्न हिंसात्मक घटनापछि गलत वा अपूर्ण जानकारी सार्वजनिक गरेको आरोपमा डिपार्टमेन्ट आलोचनामा परेको थियो।

डीएचएसको सार्वजनिक मामिला शाखामा उपप्रमुख रहेकी लरेन बिस अब डिपार्टमेन्टको शीर्ष भूमिकामा आउने बताइएको छ। त्यस्तै, कन्जरभेटिभ टिप्पणीकार केटी जकारिया नयाँ प्रवक्ताका रूपमा विभागमा आबद्ध हुने जनाइएको छ। यी परिवर्तनहरू यसअघि रोयटर्सले सार्वजनिक गरिसकेको थियो।

यसैबीच, ट्रम्प प्रशासनको आप्रवासन कडाइ अभियानप्रति सार्वजनिक समर्थन घट्दै गएको देखिएको छ। इप्सोससँग गरिएको सर्वेक्षणअनुसार मिनियापोलिसमा संघीय आप्रवासन अधिकारीहरूले दुई अमेरिकी नागरिकलाई गोली हानी हत्या गरेपछि समर्थन ऐतिहासिक रूपमा घटेको हो।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले सुरुमा गोलीकाण्डका पीडितलाई अनुसन्धानको समर्थन गर्नुको सट्टा “घरेलु आतङ्ककारी” भनेपछि विवाद बढेको थियो। यस विषयमा डेमोक्र्याट नेताहरूका साथै केही रिपब्लिकन नेताहरूले पनि आलोचना गरेका थिए। अमेरिकी प्रतिनिधिसभाका डेमोक्र्याटहरूले गत महिना नोएमविरुद्ध महाभियोग प्रस्ताव अघि बढाएका छन्।

साउथ डकोटाकी पूर्व गभर्नरसमेत रहेकी नोएम ट्रम्प प्रशासनको पहिलो वर्षदेखि आप्रवासन कडाइ अभियानको मुख्य अनुहार बनेकी थिइन्। उनी आइस अधिकारीहरूसँग न्युयोर्क सिटीमा अभियानमा सहभागी भएकी थिइन् भने एल साल्भाडोरको उच्च सुरक्षा कारागारमा थुनुवाहरूसँग फोटो खिचाएकी थिइन्।

गत साता प्रकाशित वाल स्ट्रिट जर्नलको रिपोर्टले डीएचएसभित्र नोएम र उनका प्रमुख सल्लाहकार कोरी लेवान्डोव्स्कीबीच आन्तरिक तनाव रहेको उल्लेख गरेको थियो।

नोएमले सामाजिक सञ्जाल एक्समार्फत म्याकलफलिनको कामको प्रशंसा गर्दै उनले डिपार्टमेन्टमा कार्यरत रहँदा उच्च समर्पण र व्यावसायिकता प्रदर्शन गरेको बताएकी छन्। डिपार्टमेन्टका प्रवक्ताका अनुसार म्याकलफलिनको राजीनामा डिसेम्बरदेखि नै योजनामा रहेको थियो।

Read more news from KHASOKHAS

Explore by Source or Category